दैलेख: बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीय बालिका गरिमा चौधरीको न्यायका लागि दैलेखमा विभिन्न कार्यक्रम गरिएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, दैलेखको आयोजनामा आइतबार “सुरक्षाको खोजीमा छोरी” भन्ने मूल नारासहित जनजागरण र्याली तथा खुला भाषण कार्यक्रम गरिएको हो ।
कार्यक्रमअन्तर्गत श्री त्रिभुवन मा.वि., दैलेखको गेटबाट सुरु भएको र्याली जिल्ला प्रहरी कार्यालयको गेटसम्म पुगेको थियो । त्यसपछि त्यहाँ देखि गणेशथान चोकसम्म र्याली सञ्चालन गरी गणेशथान चोकमा खुला भाषण कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा छोरी तथा महिलाको सुरक्षा, सम्मान, समान अवसर तथा सुरक्षित वातावरण निर्माणका विषयमा जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो । वक्ताहरूले छोरीको सुरक्षा र सम्मान परिवारको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएकोमा जोड दिएका थिए ।
खुला भाषण कार्यक्रममा समाजमा छोरी तथा महिलामाथि हुने हिंसा, असुरक्षा तथा विभेदको अन्त्यका लागि परिवार, विद्यालय, विद्यार्थी, युवा तथा सम्बन्धित निकायको सक्रिय भूमिका आवश्यक रहेको विषयमा वक्ताहरूले आफ्ना धारणा राखेका थिए ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले विद्यार्थी तथा युवाहरूलाई सामाजिक विषयप्रति सचेत, जिम्मेवार र सक्रिय बनाउँदै सुरक्षित, सभ्य तथा सकारात्मक समाज निर्माणका लागि जनचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ ।
हत्या भएको घटनालाई लिएर स्थानीय तथा विभिन्न संघसंस्थाले दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । दैलेखमा पनि साँझ न्यायका लागि दीप प्रज्वलन गरिएको छ ।




खुल्ला प्रेस । ७ भाद्र २०८३, आईतवार १९:५२