ओलीले भने– एमाले कर्णालीको उपसचिव खड्का नै हुन्

नेकपा एमाले कर्णाली प्रदेशको उपसचिव पद्मा खड्का नै आधिकारिक बन्ने भएकी छन् । लामो समयसम्म उपसचिवका विषयमा विवाद चुलिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि विधानअनुसार खड्का नै उपसचिव बहाल हुने प्रतिक्रिया दिएका छन् ।

‘पाँच जनामध्ये एक जना महिला हुनैपर्छ भन्ने थाहा भएकै कुरा हो । थाहा नभएको भए थाहा पाउनुपर्छ, यस हिसाबले अब त्यसमा कुनै समस्या छैन्,’ ओलीले भने । ओलीले निर्वाचनको समयमा कोटामा सर्वाधिक मत प्राप्त गरेर विजयी भएको मान्छे आफ्नो कोटामा स्वतः जाने कुरालाई कसैले रोक्न नसक्ने प्रस्ट पारे ।

२२ कात्तिकमा सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले १० देखि १५ असोजमा सम्पन्न एमाले प्रथम कर्णाली प्रदेश अधिवेशनबाट उपसचिव पदमा निर्वाचित भएका रमेशकुमार शाहीलाई जिम्मेवारीबाट मुक्त गरी पद्मा खड्कालाई बहाल गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष मण्डलले तयार पारेर दिएको पद संख्या र निर्वाचित हुने समूह (क्लस्टर) अनुसार निर्वाचन कमिटीले दुवै जना पुरुष उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेको थियो ।

उक्त घोषणामा विमती जनाउँदै समावेशी कलस्टरबाट आफू उपसचिव बन्न पाउनुपर्ने भन्दै खड्काले पार्टी केन्द्रमा उजुरी दिएकी थिइन् ।
तर, बुधबार बसेको एमाले केन्द्रीय निर्वाचन आयोगको बैठकले निर्वाचन परिणाम, पार्टी विधान, निर्वाचनसम्बन्धी नियमावली, निर्वाचनसम्बन्धी सामान्य अभ्याससमेतका आधारमा रमेशकुमार शाही नै वैधानिक उपसचिव भएको ठहर गर्दै केन्द्रीय सचिवालयको परिपत्र खारेज गरिदिएको थियो ।

उपसचिव पदका लागि उम्मेदवार बनेका नौमध्ये दुई जना महिला सुर्खेतकी पद्मा खड्का र जुम्लाकी मेनका पछाईं थिए । तीमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने दैलेखका रवीन्द्रराज शर्मा र कालीकोटका रमेशकुमार शाहीलाई निर्वाचन कमिटीले विजयी घोषणा गरेको थियो । यस विषयलाई लिएर एमाले कर्णालीमा चरम असन्तुष्टि पैदा भइरहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५