सुर्खेतः नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता, संगठन सुदृढीकरण र भावी कार्यदिशालाई केन्द्रमा राख्दै १० बुँदे प्रस्ताव जारी गरेको छ।
वीरेन्द्रनगरमा सम्पन्न प्रदेशस्तरीय विचार गोष्ठीपछि जारी गरिएको उक्त प्रस्तावमा पार्टीको १५औँ महाधिवेशनदेखि लोकतान्त्रिक व्यवस्था, सुशासन, महँगी नियन्त्रण, श्रमिक अधिकार र कर्णालीको विकाससम्मका विषय समेटिएका छन्।
कर्णाली प्रदेश कार्यसमितिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने धारणा अघि सारेको छ। वर्तमान सभापति गणेशबहादुर शाहीले शीर्ष नेतृत्वबीच संवाद गरी महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र सबै कांग्रेसजनको सहभागितामूलक बनाउन पहल गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ।
त्यस्तै, सदस्यता नवीकरण प्रक्रिया सहज बनाउन, नयाँ सदस्यलाई समेट्न तथा कर्णालीको भौगोलिक र सामाजिक अवस्थालाई ध्यानमा राख्दै हाल सञ्चालनमा रहेको अवधि थप गर्ने निर्णयसमेत प्रस्तावमा गरिएको छ। पार्टीभित्र कारबाहीमा परेका नेता–कार्यकर्तामाथिको कारबाही फिर्ता लिएर एकताको वातावरण निर्माण गर्न पनि केन्द्रीय नेतृत्वसँग आग्रह गरिएको छ।
प्रस्तावमा समावेशिताको सिद्धान्तअनुसार युवाको न्यूनतम २५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रवासी नेपालीलाई सम्मान र सहभागिताको वातावरण बनाउनुपर्ने तथा नेपालको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थाको संरक्षणमा सबै लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
नेपाली कांग्रेस कर्णाली प्रदेशले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीबाट भएको व्यवहारप्रति दुःख व्यक्त गर्दै त्यसलाई असंसदीय र अमर्यादित भनेको छ। साथै, महँगी नियन्त्रण, जनजीविकाका समस्या समाधान र श्रमिक अधिकारको संरक्षणका लागि सरकार गम्भीर बन्नुपर्ने माग पनि गरिएको छ।
प्रदेश कार्यसमितिले कर्णालीको विकासका लागि आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा पर्याप्त बजेट विनियोजन गर्न नेपाल सरकारसँग समन्वय र पहल गर्न केन्द्रीय नेतृत्वलाई अनुरोध गरेको छ।
साथै, प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी र राहत व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डाक्टर आरजु देउवामाथि भएको अभद्र व्यवहारको पनि कर्णाली कांग्रेसले भर्त्सना गरेको छ।
नेपाली कांग्रेस कर्णाली प्रदेशले लोकतन्त्र, संघीयता, सुशासन र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन पार्टी पंक्तिलाई एकजुट भएर अघि बढ्न आह्वान गरेको छ।



खुल्ला प्रेस । ५ जेष्ठ २०८३, मंगलवार ०६:११