बिजनेसविहीन भयो प्रदेश सभा

सुर्खेतः असोज ५ गते शुक्रबार बसेको प्रदेश सभाको ३६ औँ बैठकमा संविधान सभा अध्यक्ष, प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेर सकियो ।

त्यसपछि प्रदेश सभाको अर्को बैठक असोज १५ गतेका लागि तय गरिए पनि त्यो बैठक स्थगित गरिएको छ । यसअघि भदौ २४ गते कर्णाली प्रदेश सभाको ३५ औँ बैठक बसेको थियो । उक्त बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले स्वीजल्याण्ड भ्रमणका क्रममा भएका गतिविधिका बारेमा सभालाई जानकारी गराउनुका साथै प्रदेश सभा सदस्यहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

भदौ ८ गते शुक्रबार बसेको ३४ औँ बैठकमा पनि विभिन्न विषयमा सरकारको ध्यानाकर्षण र मुख्यमन्त्री राजकुमार शर्माले स्वीजल्याण्ड भ्रमण जानेबारे जानकारी गराएका थिए । पछिल्लो समय प्रदेश सभामा बिजनेस नहुँदा केही दिनको अन्तरालमा बैठक बस्दैआएको छ ।

बैठकमा प्रदेश सभा सदस्यहरूले सरोकारवालाको ध्यानाकर्षण गराउनेबाहेक कुनै विधेयकमा छलफल भएको छैन । सरकारले बिजनेस नदिँदा प्रदेश सभा बिजनेसविहीन भएको हो । सरकारले पछिल्लो समय नयाँ विधेयक दर्ता गराएको छैन । भएका विधेयक समितिमा विचाराधीन अवस्थामा छन् ।

प्रदेश सभा बिजनेसविहीन भएको छ भने प्रदेश सभा सदस्यहरू आफ्ना पार्टीका गतिविधि र निर्वाचन क्षेत्रमा केन्द्रित छन् । अहिले प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन चलिरहेको छ । बिजनेस पर्याप्त नहुँदा प्रदेश सभा सदस्यहरू पनि फुर्सदिला भएका छन् ।

प्रदेश सभा सचिवालयका अनुसार कर्णाली प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भए यता प्रदेश सभामा सातवटा विधेयक दर्ता भएका छन् । त्यसमध्ये तीनवटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । कर्णाली प्रदेश विनियोजन विधेयक २०८०, कर्णाली प्रदेश आर्थिक विधेयक, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएर प्रमाणीकरण भइसकेका हुन् ।

चारवटा विधेयक भने विभिन्न समितिमा विचाराधीन छन् । कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था बनेको विधेयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल भएर विषयगत समितिमा विचाराधीन रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश निजामती विधेयक र प्रहरी विधेयक प्रदेश मामिला समितिमा, प्रदेश विद्युत विधेयक अर्थ तथा प्राकृतिक स्रोत समितिमा र खेलकुद विकास ऐनलाई संशोधन गर्न बनेको विधेयक सामाजिक समितिमा रहेका छन् । उक्त विधेयकमा समितिमा छलफल भएर प्रतिवेदन तयार भएपछि पारितका लागि प्रदेश सभा बैठकमा पेस गरिनेछ ।

प्रदेश सभा सचिवालयका सचिव जिवराज बुढाथोकीले बिजनेस नहुँदा प्रदेश सभा बिजनेसविहीन भएको बताए । उनले भने, ‘दर्ता भएर टेबुल भएका चारवटा विधेयक समितिमा छलफलको क्रममा छन् । नयाँ विधेयक दर्ता भएको भए सभामा टेबुल भएर छलफल हुन सक्थ्यो ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५