काठमाडौं: आन्तरिक राजस्व विभागले भाडाका सवारी साधनमा कार्यरत चालक, सहचालक तथा अन्य सहयोगी कर्मचारीलाई प्रदान गरिने पारिश्रमिकमा प्रचलित कानुनबमोजिम अनिवार्य रूपमा आयकर कट्टी (टीडीएस) गरी सरकारको राजस्व खातामा जम्मा गर्न निर्देशन दिएको छ ।
विभागले हालै यातायात व्यवस्था विभागलाई पत्राचार गर्दै भाडाका सवारी साधनको दर्ता तथा नवीकरणका क्रममा सम्बन्धित कामदारहरूको पारिश्रमिकबाट आयकर कट्टी गरी राजस्व कार्यालयमा दाखिला गरेको प्रमाण अनिवार्य रूपमा पेश गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
आयकर ऐन, २०५८ अनुसार करयोग्य आय आर्जन गर्ने प्रत्येक व्यक्ति करको दायराभित्र पर्ने व्यवस्था भए पनि भाडाका सवारी साधनका धनी तथा सञ्चालकले आफ्ना चालक, सहचालक र अन्य कर्मचारीलाई पारिश्रमिक भुक्तानी गर्दा नियमअनुसार स्रोतमै कर कट्टी नगरेको पाइएपछि विभागले कडाइ गर्ने निर्णय गरेको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार भाडाका सवारी तथा ढुवानी साधनका धनी (व्यक्ति वा संस्था) ले आफ्ना कर्मचारीहरूको वार्षिक पारिश्रमिक विवरण तयार गरी अभिलेख राख्नुपर्नेछ । साथै पारिश्रमिक भुक्तानी गर्दा कानुनअनुसार लाग्ने आयकर स्रोतमै कट्टी गरी सम्बन्धित राजस्व कार्यालयमा समयमै दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, यातायात व्यवस्था कार्यालयहरूले सवारी साधन दर्ता वा नवीकरण गर्दा सम्बन्धित सवारीमा कार्यरत चालक, सहचालक तथा सहयोगी कर्मचारीहरूको पारिश्रमिक विवरण र कर दाखिला गरेको प्रमाण अनिवार्य रूपमा माग गर्ने व्यवस्था मिलाउन विभागले अनुरोध गरेको छ ।
आन्तरिक राजस्व विभागको राजस्व संकलन, बक्यौता तथा तथ्यांक व्यवस्थापन शाखाबाट जारी निर्देशन कार्यान्वयनमा आएपछि यातायात क्षेत्रमा कार्यरत ठूलो संख्याका श्रमिक औपचारिक कर प्रणालीभित्र आउने अपेक्षा गरिएको छ । यसबाट कर प्रशासन थप प्रभावकारी हुनुका साथै राज्यको राजस्व संकलनमा समेत वृद्धि हुने विभागको विश्वास छ ।




खुल्ला प्रेस । ३१ असार २०८३, बुधबार २१:००