किसानको फोनपछि बारीमा मन्त्री

सुर्खेतः सुर्खेतसँगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका–४, साल्तडाका किसानले कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहलाई किसानले मकैमा रोग लागेको भन्दै फोन गरेका छन् । ती किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाहले आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा अनुगमन  गरेका छन् ।

साल्तडामा मकैको बिउ उत्पादनका लागि पाँच हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैमा रोग देखिएपछि किसान चिन्तित बनेका थिए । किसान तेजबहादुर शाहीले आठ हेक्टरभन्दा बढी क्षेत्रफल रहेको साल्तडामा पाँच हेक्टरमा मकै, आँप र केराको खेती गरिएको बताए । उनले पाँच हेक्टर जग्गामा लगाइएको मकैमा रोग लागेर सखाप पारेको जानकारी  दिए ।

वार्षिक आठ टनभन्दा बढी मकैको बिउ उत्पादन हुने क्षेत्रमा गत वर्ष र यस वर्ष रोग किरा लागेर ५० प्रतिशतभन्दा बढी बाली नष्ट भएको उनले जनाए । उनले मन्त्रीलाई मकैमा रोग लागेकाले के गर्ने भन्दै फोन गरेको बताए ।

मन्त्री शाहसँगै फिल्ड अनुगमनमा पुगेका एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाले मकैमा कम्प्लेक्स टाइपको रोग देखिएको जानकारी दिए। उनले मकैमा थेग्ले, घोगा कुहिने र काण्ड कुहिने रोग देखिनुका साथै खाद्य तत्वको पनि कमी भएको बताए ।

रोगको उपचारका लागि आवश्यक प्रयत्न गर्न कृषकले खेती गर्दा अबका दिनमा बाली चक्र प्रणाली अपनाउनुपर्ने, रोग सहन सक्ने क्षमता भएका जातका बाली लगाउने, खेतबारीको सरसफाइ गर्ने र पर्याप्त सिँचाइ व्यवस्था गरी खेती प्रणाली परिवर्तन गर्ने गरेमा रोगबाट बच्न सकिने सुझाव उनकाे छ ।

अनुगमनपछि मन्त्री शाहले दैलेखको साल्तडा कृषि उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएको बताए। उनले किसानलाई समस्या भएको मन्त्रालयलाई जानकारी हुनेबित्तिकै किसानको बारीमा प्राविधिकसँग सरकार उपस्थित भएर समस्या समाधानका लागि अनुगमन गरिएको  जनाए ।

मन्त्री शाहले प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेशका रूपमा विकास गर्न लागिरहेको बताउँदै यसमा किसानले साथ दिनुपर्नेमा पनि जोड  दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५