काठमाडौँः सरकारले सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्यअनुरूप जोखिमपूर्ण अवस्थामा रहेका सडक बालबालिकाको खोजतलास, उद्धार तथा पुनर्स्थापनाको अभियानलाई तीव्र बनाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत दैनिक गस्ती, उद्धार र संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्री सीता बादीको पदबहालीपछि सडक बालबालिकाको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै सडकमा जोखिमपूर्ण अवस्थामा रहेका, भीक्षा माग्न बाध्य भएका तथा जीविकोपार्जनका लागि पानी, मास्कलगायत सामग्री बिक्री गर्न बाध्य बालबालिकाको नियमित पहिचान गरी उद्धार गर्ने कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।
उद्धार गरिएका बालबालिकालाई अस्थायी संरक्षण, मनोसामाजिक परामर्श, अभिभावकलाई आवश्यक सचेतना तथा आवश्यकताअनुसार पुनर्स्थापनाको प्रक्रिया निरन्तर सञ्चालन भइरहेको मन्त्रालयको भनाइ छ।
मन्त्री बादीले प्रत्येक बालबालिकालाई सडकको जोखिमपूर्ण जीवनबाट मुक्त गरी सुरक्षित वातावरण, शिक्षा, संरक्षण र सम्मानपूर्ण भविष्य सुनिश्चित गर्नु सरकारको प्राथमिक दायित्व भएको बताउँदै सडक बालबालिका मुक्त नेपाल बनाउने राष्ट्रिय लक्ष्य हासिल गर्न मन्त्रालय दृढतापूर्वक अघि बढिरहेको बताइन् ।




खुल्ला प्रेस । ४ श्रावण २०८३, सोमबार २०:१५