दैलेख: मनसुन सुरु हुनै लाग्दा विपद व्यवस्थापनको पूर्वतयारीमा जिल्ला प्रशासन कार्यालय दैलेखले अग्रसरता जनाएको छ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षता विहरीबार दैलेख सदरमुकाममा बसेको बैठकले पूर्वतयारी बारे निर्णय गरेको हो ।
दैलेखका स्थानीय सरकारका प्रमुखहरु, सुरक्षा अधिकारीहरु, सरोकारवाला सरकारी कार्यालय र नागरिक समाज संस्थाहरुको व्यापक सहभागितामा मनसुनी वर्षाको समयमा आउन सक्ने बाढी, पहिरोको जोखिम न्यूनीकरण र रोकथामका लागि साधन, श्रोत र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।
मनसुनी वर्षा अघि अहिले गर्मीको समयमा वन डढेलो, आगलागी जस्ता विपदमा उद्धार तत्परता, सुरक्षा तयारी र समुदायमा सजगता बढाउन मिडियाको सक्दो धेरै प्रयोग गर्ने विषयमा स्थानीय सरकार, सरकारी कार्यालय र नागरिक समाज संस्थाहरुले सहयोग गर्ने वचन दिएका छन् ।
आजै दैलेख सदरमुकाम नजिक नारायण नगरपालिका–२ देउती सामुदायिक वनमा लागेको आगो नेपाली सेनाको कालिदत्त गुल्म, सशस्त्र प्रहरी, जनपथ प्रहरीका सुरक्षाकर्मीहरु र स्थानीयले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताउनुभयो ।




खुल्ला प्रेस । ३ जेष्ठ २०८२, शुक्रबार ०५:४२