कर्णाली नदीमा खसेकाे फाेर्स गाडी तीन दिन बितिसक्दासमेत भेटिएकाे छैन । बिहीबार सुर्खेतकाे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा कालीकोटतर्फ जाँदै कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी कर्णाली नदीमा खसेको थियो ।
कर्णालीको तीव्र बहाव, धमिलो पानी र भिरालो भूगोलका कारण खाेजी कार्यमा सकस भइरहेकाे प्रहरीले बताएकाे छ । कर्णाली प्रदेश प्रहरीका अनुसार गोताखोर, ड्रोन, सोनार क्यामेरा, म्याग्नेटसहितका अत्याधुनिक उपकरण र नेपाली सेनाको हेलिकोप्टरसमेत परिचालन गरेर खोज तथा उद्धार कार्य निरन्तर जारी छ ।
प्रतिकूल प्राकृतिक अवस्थाका बाबजुद उपलब्ध सबै स्रोत–साधन परिचालन गरी बेपत्ता व्यक्तिहरूको खोजीलाई उच्च प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ । दैलेख प्रहरीले कर्णाली नदीमा खसेकाे फाेर्स गाडीमा सवार पाँच यात्रुकाे विवरण सार्वजनिक गरेकाे छ ।
घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालकसहित पाँच जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जवे टीका (कालीकोट, पलाँता गाउँपालिका–१) को शव फेला परेको छ । आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडीमा सवार चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी (दुवै सुर्खेतको पञ्चपुरी नगरपालिका–८), सिर्जना बुढा (रास्कोट नगरपालिका–२, कालिकोट), मेखे तिरुवा र जेखे तिरुवा (दुवै पलाँता गाउँपालिका–१, कालिकोट) रहेका छन् ।





खुल्ला प्रेस । २० असार २०८३, शनिबार २०:४९