आईसीसी टी–२० क्रिकेट विश्वकपमा बंगलादेशलाई हराएसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना मजबुत बनेको छ ।
शनिवार राति वेस्ट इन्डिजको एन्टिगुवा एन्ड बरबुडामा भएको सुपर ८ को खेलमा भारतले बंगलादेशलाई ५० रनको फराकिलो अन्तरले हराएको हो ।
भिभान रिचार्ड रंशालामा भएको खेलमा भारतले दिएको १९७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो । बंगलादेशका कप्तान नजमुल हाेसेन शान्टोले ३१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ४० रन बनाए । तान्जिद हसनले २९ तथा रिसाद होसेनले २४ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।
भारतका लागि कुलदीप यादवले ३ तथा अर्शदीप सिंह र जसप्रित बुमराहले समान २–२ विकेट लिए । १ विकेट हार्दिक पाण्ड्याको नाममा रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
भारतका लागि हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनी सर्वाधिक ५० रन बनाएर अविजित रहे । यसैगरी ओपनर विराट कोहलीले पनि ३७ रन बनाए भने ऋषभ पन्तले ३६ रन जोडे ।
त्यसैगरी शिवम दुबेले ३४ रन तथा कप्तान रोहित शर्माले २३ रन बनाए । यस्तै सूर्यकुमार यादव भने ६ रन बनाउँदै पेभेलियन फर्किए भने अक्षर पटेल ३ रनमा अविजित रहे ।
बंगलादेशका तान्जिम हसन सकिब र रिसाद होसेनले समान २ विकेट हात पारे । सकिब अल हसनले पनि १ विकेट लिए ।
आइतवार बिहान अष्ट्रेलियाले अफगानिस्तानमाथि जीत दर्ता गराएमा भारतको सेमिफाइनलमा स्थान पक्का हुनेछ । यसपछि भारत र अष्ट्रेलियाबीचको खेलले समूह विजेता निर्धारण गर्नेछ ।
खुल्ला प्रेस । १० असार २०८१, आईतवार ०७:२०