सुनको मूल्य ९९ हजार

काठमाडौं : रुस-युक्रेन युद्धका कारण सुनको मूल्य हृवात्तै बढेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएकोे थियो । यसअघि पनि सुनको मूल्य ९९ हजार रुपैयाँ पुगेर फेरि घटेर ८८ हजार रुपैयाँसम्ममा झरेको थियो ।

पछिल्लो समय रुस र युक्रेनबीच बढेको तनावका कारण सुनको मूल्य प्रभावित भएको व्यवसायी महासंघले जनाएको छ । मूल्य अझै बढ्न सक्ने महासंघको आंकलन छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४८ डलर हाराहारीमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रियस्तरमा राजनीतिक द्वन्द्वसँग सुनको मूल्य आकाशिने गरेको छ ।

विश्वमा कोरोना महामारीको सुरुवातसँगै सुनको मूल्यको बढेको थियो भने कोरोना खोपको विकासपछि फेरि मूल्य घट्दै गएको थियो । महासंघका अनुसार सामान्य अवस्थामा नेपाली बजारमा दैनिक २० केजी र सिजनमा दैनिक ३५ देखि ४० केजीसम्म सुनको माग हुने गरेको छ । त्यसैले महासंघले सुनको कोटा बढाएर दैनिक ३० केजी पुर्‍याउन राष्ट्र बैंकलाई दबाब दिँदै आएको छ । राष्ट्र बैंकले हालै दैनिक २० केजी कोटा उपलब्ध गराउँदै आएको छ । हाल देशभर २२ हजारभन्दा बढी व्यवसायी सुनचाँदी व्यवसायमा संलग्न रहेको बताइएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५