दैलेखः एक वर्षदेखि सूचना प्रविधि र शिक्षण सिकाईको सामाग्री विद्यालयको बन्द कोठामा थन्किएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा खरिद गरेका सामाग्री प्रयोगविहीन बनेका हुन् ।
दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीस्थित खड्गदेवी आधारभूत विद्यालयले किनेका सामाग्री अहिले बोरामा थन्किएको अभिभावकले गुनासो गरेका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत भगवतीमाई गाउँपालिकामाफर्त विद्यालयलाई सामाग्री खरिदका गर्न १२ लाख ५० हजार रुपैयाँ दिइएको थियो ।
सो रकमबाट ६ लाख ५० हजार बराबरको सूचना प्रविधिका सामग्री र बाँकी रकमले शिक्षण सिकाईका सामाग्री खरिद गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद रेग्मीले बताए ।
सूचना प्रविधिका समान अन्र्तगत सात वटा कम्प्युटर, एक ल्यापटप, एक फोटोकपी मेशिन, प्रिन्टर मेशिन र प्राजेक्टर, दुई सय वाट क्षमताको सोलार प्रणाली र फर्निचर सामाग्री किनिएको प्रअ रेग्मीले जानकारी दिए । उनका अनुसार शिक्षण सिकाई सामाग्री अन्तरगत विभिन्न किसिमका पुस्तक, खेलकुद लगायतका सामाग्री खरिद गरि पुस्तकालय सञ्चालन गरिएको छ । तर, यी सबै खरिद गरिएको सामाग्री प्रयोगविहीन भएको प्रअ स्वीर्काछन् ।
कम्प्युटर सञ्चालनका लागि दक्ष शिक्षक नहुँदा सूचना प्रविधिका सामान थन्किएको प्रअ रेग्मीले बताए । तथापी, खरिद गरिएका सामाग्री प्रयोगविहीन बनाएर थन्काउनु सरकारी सम्पत्तिको फजुल खर्च भएको अभिभावकको गुनासो छ । जनशक्ति अभावको बाहनामा विद्यालय व्यवस्थापन समिति र प्रअले शैक्षिक सामाग्री प्रयोगमा नल्याएको अभिभावक विनोद कुमार नेपालीले बताए ।
‘रकम अनुसार सूचना प्रविधिका सामान ल्याइएको छैन । ल्याएका सामान पनि प्रयोग विहिन भएर कोठाको एक कुनामा थन्काइएको छ ।’ अभिभावक नेपालीले भने, ‘शिक्षण सिकाइका सामाग्री विद्यार्थीले देख्न पाएका छैनन् ।’
प्रत्येक आर्थिक वर्षमा विद्यालयको सामाजिक लेखा परिक्षण गरि त्यसको प्रतिवेदन अभिभावक भेलामा सार्वजनिक गर्नुपर्ने भएपनि विद्यालयले हालसम्म त्यस्ता कुनैपनि काम नगरेको अभिभावकको आरोप छ । ‘खरिद गरिएको सामान पनि के–कति रकममा खरिद गरिएको हो त्यसको हिसाब अभिभावकले खोजेका छन् । तर विद्यालयले दिन सकेको छैन’ अभिभावक नेपालीले भने, ‘सामाजिक लेखा परिक्षण हुँदासमेत यसको जानकारी दिइएन । त्यसैले पनि विद्यालयको खर्च पारदर्शितामाथी आशंका उत्पन्न भएको छ ।’
विद्यालयले पेश गरेको विल भपाईका आधारमा रकम भुक्तानी दिइएको गाउँपालिकाको शिक्षा विज्ञान तथा प्रविधि शाखाका प्रमुख मानबहादुर विकले जानकारी दिए । तर, उनि रकम भुक्तानी दिएको विषयमा भने स्पष्ट छैनन् । ‘रकम असार मसान्ततिर लिनुभएको थियो होला । त्यसैले पनि विलभर्पाइ अनुसार सामान रुजु भए की भएनन् । तर विल अनुसार रुपैयाँ भुक्तानी गरियो ।’ विकले भने ।
विद्यालयका सामाग्री प्रयोगविहीन भएको विषयमा आफूहरु जानकार भएपनि सञ्चालनमा ल्याउन नसकिएको उनको भनाई छ । ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत गाउँपालिकाका धेरै विद्यालयमा यस्तो समस्या देखिएको छ’ विकले भने, ‘प्रयोग भएका कम्प्युटर विद्यालय प्रशासनमा संचालन गरिएपनि शिक्षण सिकाईमा कम्प्युटर प्रयोग भएको देखिदैन ।’ # शिलापेपर
खुल्ला प्रेस । २२ चैत्र २०७८, मंगलवार २२:१२