कर्णाली प्रदेशकाे बजेट बहुमतले पारित

सुर्खेतः कर्णाली प्रदेश सभा बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० सहित समग्र बजेट पारित गरियोस् भनी बैठकमा प्रस्ताव राखेका थिए ।

योजनामन्त्री सिंहले असार १ गते आव २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँको बजेट प्रस्तुत गरेका थिए ।

नेकपा (एमाले) प्रदेश सभा सदस्य विनोद कुमार शाहले प्रदेश सभामा राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। प्रदेश सभा सदस्य शाहले नीतिगत असहमति जनाउँदै कर्णाली प्रदेश विनियोजन विधेयक २०८०/८१ अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गरेका थिए ।

उनले मन्त्रालयको बजेट शीर्षक घटाएर एक रुपियाँ कायम गरियोस् भनी बजेट छलफलका क्रममा प्रस्ताव राखेका थिए । उनकाे प्रस्तावलाई प्रदेश सभा बैठकको बहुमतले अस्वीकृत गरेको हो। उनले विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्रमुख नीतिहरू, विनियोजित बजेटमा तादम्यता नमिलेकाले नीतिगत असहमित जनाउँदै शीर्षकगत खर्च रकम घटाई एक रुपियाँ कायम गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

उनले बजेटमा आर्थिक सुधार नेतृत्व गर्न आवश्यक अभिमुखीकरण र तयारी नगरिएको, अथाह आर्थिक सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा नराखिएको र आर्थिक सुशासन र स्वच्छ नियमनको जगमा प्रतिस्पर्धात्मक अर्थतन्त्रका लागि विश्वसनीय आधार नभएको आरोप लगाए ।

बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले महालेखाको पाँचौँ वार्षिक प्रतिवेदन २०७९ प्रदेश सभा बैठकमा पेस गरेका छन् । मुख्यमन्त्री शर्माले पेस गरेकाे उक्त प्रतिवेदन छलफलका सार्वजनिक लेखा समितिमा छलफलमा पठाइएको छ। प्रदेश मामिला समितिले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको प्रतिवेदन पेस गरेको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५