काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको दाबी गरेका छन्।
अध्यक्ष ओलीले एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने दाबी गरेका हुन्। शनिबार भक्तपुरको सूर्य विनायकमा आयोजित एक कार्यक्रममा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरूलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिए।
ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरूलाई एमालेमै फर्कन आह्वान पनि गरे। प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरूलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ।
उनले भने, ‘अव एक वर्षभित्र चुनाव हुनैपर्छ। बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन कहाँ बच्छ? बच्न सक्दैन। त्यसकारण अब त बढीमा एक वर्ष हो यिनको आयू। संसारभरीका जोतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छन्।’
अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाए।




खुल्ला प्रेस । ७ फाल्गुन २०७८, शनिबार १९:३४