सुर्खेतः कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो पीडित र अन्नबालीमा क्षति भई प्रभावित भएका कृषकलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले बाढी पहिरो लगायतको विपदमा परी निधन भएकाहरूकाे परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद् दुर्घटना बीमाबाट प्राप्त हुने २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।
कृषकको अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्ने, विपद्मा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले जानकारी दिइन्।
त्यस्तै, विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाइ र विद्युत् पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनःनिर्माण तथा पुनर्स्थापना गर्ने प्रवक्ता नेपालीले बताइन्।
विपद्का कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने निर्णय भएको पनि उनले जानकारी दिइन्।
कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट सात जनाको ज्यान गएको छ। बाढी पहिरोमा परेर चार जना घाइते हुनुका साथै एक जना बेपत्ता भएका छन्। –उकेरा




खुल्ला प्रेस । ५ कार्तिक २०७८, शुक्रबार १४:३३