‘मृत्युमार्ग’ बन्दै कर्णाली राजमार्ग

दैलेख : दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो । यसअघि २०७१ मा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा दूधे बालकसहित १८ जनाले ज्यान गुमाएका थिए  ।

२०६६ चैतमा दैलेखको किटुमा गाडी दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको थियो । २०६८ मंसिरमा कालीकोटको सेराबाडा बित्तामोडमा २८ जनाले ज्यान गुमाएका थिए भने जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाधमा १५ को मृत्यु भएको थियो ।

कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग खुलेयता भएका ठूला दुर्घटनाका मात्र विवरण हुन् यी । सानातिना दुर्घटनाको संख्या त सय हाराहारी पुग्छ । साँघुरो र अप्ठ्यारो सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐर बताउँछन् । ‘अत्यधिक गतिका कारण पनि दुर्घटना बढिरहेको छ,’ उनले भने, ‘कर्णालीको भूगोल यसै कठिन छ । सडक पनि जीर्ण हुनाले दुर्घटना रोक्न चुनौती छ ।’

कर्णाली प्रदेशमा सडक दुर्घटनामा परी पछिल्लो ३ महिनामा ६१ जनाले ज्यान गुमाएका छन् । जीर्ण र कच्ची सडक, क्षमताभन्दा यात्रु राखिनु र पुराना गाडीका कारण कर्णालीका पहाडी जिल्लामा दुर्घटना बढ्दै गएको हो । कर्णाली प्रदेशमा ३ आर्थिक वर्षमा ३ सय ४६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । ‘कालोपत्र गरिएका सडक पनि एक वर्षमै भत्किन्छन्,’ प्रदेश प्रहरी प्रमुख डीआईजी ऐरले भने, ‘कच्ची सडकमा त गाडी नपल्टेको दिनै हुँदैन ।’

उनका अनुसार आव २०७६/७७ मा २ सय ३६ सवारी दुर्घटना हुँदा ८७ जनाको मृत्यु भएको थियो भने ४ सय ७२ जना घाइते भए । २०७७/७८ २ सय ९१ दुर्घटनामा ९८ जनाको मृत्यु भयो भने ४ सय ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्षका सुरुका ३ महिनामा ८७ दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ भने १ सय ८३ जना घाइते भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ । ब

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५