दैलेखः नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही नेकपा एमालेमा फिर्ता भएका छन् । नेकपा एमाले पार्टी कार्यालय दैलेखमा एक कार्यक्रमबीच शाही मंगलबार एमालेमा प्रवेश गर्दै फिर्ता भएका हुन् ।
शाहीलाई एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, पोलिटब्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्य विनोदकुमार शाहले पार्टीमा स्वागत गरे । यतिबेला नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी छ । उक्त अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल कर्णाली पुगेकै समयमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका शाही एमालेमा फर्किएका हुन् ।
दैलेखको महाबु गाउँपालिका निवासी शाही नेकपा एमाले जिल्ला कमिटी दैलेखको २०७६ सालमा जिल्ला सचिव समेत थिए । एमालेको स्रोतका अनुसार उनलाई मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट महाबु गाउँपालिका दैलेखको अध्यक्षको उम्मेदवार बनाउन लागिएको छ । यसअघि गत कात्तिक २४ गते बसेको एमाले सचिवालय बैठकले ३३ ठाउँका उम्मेदवार तय गरेको थियो । महाबुको भने टुंग्याउन बाँकी थियो । सो ठाउँमा उनै शाहीलाई उम्मेदवार बनाउने तयारी एमालेले गरेको हो ।
नेता शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट महाबु गाउँपालिका दैलेखको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट शाही उम्मेदवार बनेर करिब १९ सय मत प्राप्त गरेका थिए । यस्तै, दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयघातका कारण २०७९ माघ २७ गते निधन भएको थियो । अध्यक्षलाई उपचारका लागि दैलेख बजार ल्याउँदै गर्दा बाटोमा निधन भएको थियो । उनको निधन भएपछि यसपालिकामा उपनिर्वाचन हुन लागेको हो ।
गुरुङले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । गुरुङले दुई हजार नौ सय सात मत प्राप्त गरेका थिए भने उपाध्यायले दुई हजार पाँच सय १९ मत प्राप्त गरेका थिए । यस्तै, महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले युवा नेता झलकबहादुर भण्डारी, नेकपा माओवादी कुन्द्रले जंगबहादुर बराल ‘त्रिलोचन’लाई उम्मेदवार बनाइसकेको छ । १२ हजार ६ सय ४० मतदाता भएको माहाबुमा मंसिर १६ गते पालिका अध्यक्षको लागि उप निवार्चन हुदै छ । निर्वाचनको बेला एमालेमा फर्किनुले महाबुमा एमालेबाट शाही उम्मेदवार हुने पक्का जस्तै भएको सोझै अनुमान गर्ने सकिन्छ ।
खुल्ला प्रेस । २७ कार्तिक २०८१, मंगलवार १९:१८