काठमाडौँः पूर्व प्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै राति ९ बजे शीतल निवासमा हुने तय भएको जानकारी प्राप्त भएको छ ।
यससँगै उनी नेपालको पहिलो महिला प्रधानमन्त्रीको ऐतिहासिक जिम्मेवारीमा पुगेकी छिन् । कार्की यसअघि सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश बनेर न्यायिक क्षेत्रमा नयाँ इतिहास रचिसकेकी थिइन् ।
अन्तरिम सरकार गठनका लागि राजनीतिक दलहरूबीच लामो रस्साकस्सी भए पनि सहमति नजुटेपछि पूर्व प्रधानन्यायाधीश कार्कीलाई निष्पक्ष र साझा व्यक्तित्वका रूपमा अघि सारिएको हो । संवैधानिक व्यवस्था अनुसार, अन्तरिम सरकारलाई आगामी निर्वाचन सम्पन्न गर्ने तथा मुलुकलाई स्थायित्वतर्फ डोर्याउने प्रमुख जिम्मेवारी तोकिएको छ ।
राजनीतिक विश्लेषकहरूले कार्कीको नेतृत्वलाई ‘साहसिक तर प्रयोगात्मक कदम’का रूपमा व्याख्या गरेका छन् ।





खुल्ला प्रेस । २७ भाद्र २०८२, शुक्रबार २०:११