अमर सुनार
दैलेख: पेट्रोलियम पदार्थ उत्खनन्का लागि ड्रिलिङ्ग कार्य आजदेखि सुरु भएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इञ्चार्ज डा. याङ्ग पिङ्गले आइतबार उत्खनन्स्थलमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्तलन गरी ड्रिलिङ्ग कार्य शुभारम्भ गरे ।
नेपाल सरकार र चीन सरकारबीच सन् २०१६ मा भएको सम्झौता अनुसार चाइना एड अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट अन्तरत नेपाल सरकारको खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाले औपचारिक कार्यक्रम गरी ड्रिलिङ्ग कार्य थालिएको हो ।
ड्रिलिङ्ग कार्य शुभारम्भपछि मन्त्री भण्डारीले पेट्रोलियम पदार्थ उत्खननले आयातमुखी नेपालको बजार व्यवस्थालाई सन्तुलनमा राख्नसक्ने सुनाए । कर्णाली प्रदेश विकासमा पछि परेको भनिए पनि सम्भावनाहरुको ढोका खोल्ने उनले बताए ।
त्यसबखत प्रतिनिधिसभाका शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले आयोजनाका कामहरु अड्किँदा बेलाबेला पहल गरेको र जतिबेला आवश्यक पर्छ समस्या सुल्झाउन तत्पर रहेको बताए ।
कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री गमता बिकले पेट्रोलियम पदार्थ उत्खनन् कार्यपछि प्रशोधन कार्य समेत गराउन आग्रह गरिन् । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले आयोजनाका बीचैमा रोकिने कार्य नहोस् भन्नेमा नागरिकहरु समेत चनाखो हुनुपर्ने औल्याए ।
ड्रिलिङ्ग कार्य करिब दुई महिना अवधिमा चार किलोमीटर गहिराईमा पुगेर पेट्रोलियम पदार्थको कच्चा पदार्थ निकाल्न सकिने पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितले जानकारी दिए । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले देशकै भविष्य बोकको पेट्रोलियम अन्वेषण परियोजनाले जिल्लावासीहरुका लागि हौसला पैदा गराएको उल्लेख गरे ।
खानी तथा भूगर्भ विभावका महानिर्देशक रामप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति सचिव कृष्ण राउत, भैरबी गाउँपालिकाका अध्यक्ष रिता शाही, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले पनि पेट्रोलियम पदार्थ उत्खनन् र जिल्लावासीले गरेको अपेक्षा विषयमा बोलेको थिए ।
पाँच वर्ष अघि करिब ६ महिना अवधिमा दैलेखका ४ स्थानमा विभिन्न चरणमा गरिएका जियोलोजिकल सर्भेबाट पेट्रोलियम पदार्थ बढी भण्डारण पाइएको र उत्खनन्मा सहज हुने निष्कर्ष सहित दैलेखको भैरबी गाउँपालिका–१ जलजलेमा ड्रिलिङ्ग तय गरिएको हो ।
जलजलेमा २७ घरपरिवारको ४५ रोपनी जग्गा नेपाल सरकारले अधिग्रण गरिदिएपछि पेट्रोलियम अन्वेषण परियोजनाले उत्खनन् स्थलमा संरचना निर्माण थालिएको हो । चीन सरकारको सहयोगमा हुन लागेको यो कामका लागि चीनबाट एक सय ७५ वटा ट्रकमा सामग्री पुगेपछि ड्रिलिङ्गका लागि उपकरण जडान सम्पन्न भएको छ ।
उपकरणहरु जडान भई आजैदेखि थालिएको नेपालका लागि करिब १० वर्षसम्म पुग्ने पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको छ । उत्खनन्को काम थालिएपछि स्थानीयहरु खुशी भएका छन् । अहिले पेट्रोलियम पदार्थ उत्खनन्को काम थालिए पनि श्रीस्थान र नाभिस्थान मन्दिरभित्र निरन्तर बल्दै गरेको ज्वालालाई आस्तिकहरुले धार्मिक आस्थाको रुपमा पुज्दै आएका छन् ।
खुल्ला प्रेस । २४ बैशाख २०८१, सोमबार १६:०७