दैलेख १० औँ पटक पूर्ण खोप दिगोपन सुनिश्चितता तथा निरन्तरता घोषणा

दैलेखः दैलेख जिल्ला १० औँ पटक पूर्ण खोप दिगोपना सुनिश्चितता तथा निरन्तरता घोषण भएको छ । आइतबार दैलेखलाई १० औँ पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

 “स्थानीय स्रोत साधनको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप जिल्ला हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित जिल्ला खोप समन्वय समिति दैलेखका प्रमुख तथा जिल्ला समन्वय समिति दैलेखका समन्वय प्रमुखको अध्यक्षता तथा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्ययतामा दैलेखलाई १० पटक पूर्ण खोप जिल्ला घोषणा गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले खोपको गोपनीयताको लागि सरकार प्रतिबद्ध भएको बताउँदै आगामी दिनमा थप सुदृढीकरण गरिने बताए । उनले निकट दिनहरूमा दैलेख अस्पतालबाट मृगौला डायलासिस सेवा शुभारम्भ हुने घोषणा गरे ।

मृगौलाबाट पीडित नागरिकको उपचारमा सहजताका लागि दैलेख अस्पतालको स्तरोन्नतिमा ध्यान केन्द्रित भइरहेपनि निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित नतिजा दिन नसकिरहेको उनको भनाइ छ । तथापि आगामी दिनमा भौतिक संरचना निर्माण भई सेवा सुव्यवस्थित गर्नका लागि प्रतिबद्धता जाएर गरे ।

सोही अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले स्वास्थ्य क्षेत्रमा खोपको महत्त्वमाथि प्रकाश पार्दै प्राविधिक र प्रशासनिक सहयोगमा मन्त्रालयले कति पनि कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाइन्। खोप कार्यक्रम सफल हुनुमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको ठुलो योगदान रहेको स्मरण गर्दै सचिव श्रेष्ठले अबको मुख्य ध्यान खोपको भण्डारणलाई मजबुत बनाउने र प्रत्येक पालिकामा यसको प्रभावकारी अनुगमन गर्नेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखिन्।

कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्का,  राजनीतिक दलको तर्फबाट रास्वपाका जिल्ला सचिव रमेश केसी, र नेपाल पत्रकार महासङ्घका जिल्ला सचिव भीम सिजापति लगायतले पनि पूर्ण खोपको दिगोपनाका लागि स्थानीय समुदाय नै बढी सचेत हुनुपर्ने र यसको नियमित निगरानी गरिनुपर्ने कुरामा जोड दिँदै आफ्ना भनाइहरू राखे।

स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै दैलेखका ११ वटा पालिकाका २५९ वटा खोप केन्द्रका माध्यमबाट खोप प्रदान गरिएको बताए । २०८३ जेठ महिना सम्ममा विभिन्न जातजातिका १५३२ महिला र १७२१ पुरुषले खोप सेवा पाएका छन् ।

नियमित रूपमा खोप लगाइएका मात्रै होइन खोप छुटेका ८० जनालाई नियमित खोपमा छुट भएको खोप लगाइएको छ ।

सबै पालिकाहरूलाई पूर्ण खोप सुनिश्चितता तथा निरन्तरता घोषणा पछि जिल्लालाई घोषण गर्नुपर्ने हुँदा यस अघि ११ वटै पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता तथा निरन्तरता घोषण गरी आइतबार जिल्लालाई घोषण गरिएको हो ।

दैलेख जिल्ला वि.स. २०७४ असार ४ गते तत्कालीन मध्यपश्चिम विकास क्षेत्रको पहिलो जिल्लाको रूपमा पूर्ण खोप घोषण गरिएको थियो । घोषणाको १० वर्ष पुगेको छ ।

दैलेखमा हाल २ वटा अस्पताल, ३ वटा आधारभूत अस्पताल, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ५५ वटा स्वास्थ्य चौकी र ५ वटा सहरी केन्द्र, १८ वटा सामुदायिक स्वास्थ्य इकाई, २४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५