काठमाडौं: आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ ।
प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभातर्फ ११ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा अवसर दिँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने पाँच जनालाई मात्रै टिकट दिएको छ । त्यस्तै, सरकारमै रहेको अर्काे दल माओवादी केन्द्रले ६ जनालाई चुनावी मैदानमा उतारेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा ५ जना मात्रै महिलालाई मात्रै अवसर दिएको हो ।
कांग्रेसले देशभरका ७ वटा प्रदेशमध्ये ४ वटा प्रदेशमा एक–दुई जना गरेर महिलाको सहभागिता गराएको भए पनि ३ वटा प्रदेशमा भने एक जना पनि महिलालाई चुनावी मैदानमा खटाएन ।
कांग्रेसले एउटा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा सीता गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै, मोरङ क्षेत्र नम्बर–२ बाट सुजाता कोइरालालाई मैदानमा उतारेको छ ।
यस्तै, मधेस प्रदेशका १५ वटा निर्वाचन क्षेत्रमध्ये एक निर्वाचन क्षेत्रमा मात्रै महिलाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट सिरहा क्षेत्र नम्बर–२ मा पूर्वउपसभामुख चित्रलेखा यादवको उम्मेदवारी दर्ता गराएको हो ।
बाग्मती प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनबाटै नेपाली कांग्रेसका साझा उम्मेदवार उठाउँदा एक जना महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।
मकवानपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै, अर्घाखाँचीबाट पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् ।
कांग्रेसले प्रतिनिधिसभामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट महिला उम्मेदवार उठाएको छैन ।
यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले १४५ क्षेत्रमा उम्मेदवारी दिँदा ११ वटा क्षेत्रमा महिलालाई अवसर दिएको हो । एमालेले भगवती चौधरीलाई सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ बाट उठाएको छ । उनीसँग कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिस्पर्धा गर्दै छन् ।
एमालेले मञ्जु चौधरीलाई उदयपुर–१ बाट टिकट दिएको छ । यस्तै, बारा–३ बाट ज्वाला शाहले टिकट पाएकी छन् । यस्तै, एमालेबाट टिकट पाउनेमा जुली कुमारी महतो पनि छिन् । उनले धनुषा–३ बाट टिकट पाएकी हुन् ।
एमालेले नेतृ पदमा अर्याललाई स्याङ्जा–२ बाट टिकट दिएको छ । उसले कास्की–२ बाट पुनः विद्या भट्टराईलाई टिकट दिएको छ । बाग्लुङ–२ बाट मञ्जु शर्मा चालिसेलाई टिकट दिएको एमालेले दाङको क्षेत्र–१ बाट शान्ता चौधरी र दाङ–३ बाट कोमल वलीलाई चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने अवसर दिएको छ ।
यस्तै, एमालेले डोटीबाट गौरी ओलीलाई टिकट दिँदा कञ्चनपुर–३ बाट निरु पाललाई अवसर दिएको छ ।
माओवादी केन्द्रबाट ललितपुर– ३ मा पम्फा भुसाल, काठमाडौं–९ मा कल्पना धमला, दाङ– ३ मा रेखा शर्मा, काठमाडौं–२ मा ओनसरी घर्ती, जुम्लामा गोमा गौतम, कञ्चनपुर–३ मा विना मगर र काठमाडौं–७ मा मानुषी यमी भट्टराई उम्मेदवार बनेका छन् । राजधानीबाट
खुल्ला प्रेस । २४ आश्विन २०७९, सोमबार ०८:२१