दैलेखका ११ स्थानीय तहबाट सेवा दिदै आयुर्वेद

दैलेखः जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ । नागरिकलाई सहज रूपमा आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दैलेखका ११ वटै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा विस्तार गरिएको हो ।
दैलेखका ११ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा आयुर्वेद औषधालयबाट यसअघि आयुर्वेद स्वास्थ्य सेवा सञ्चालनमा रहेको थियो । बाँकी आठवटा स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरि आयुर्वेद स्वास्थ्य सेवा जिल्ला भर बिस्तार गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख रामप्रसाद महतोले बताए ।
सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना बढाउने लक्ष्यका साथ यहाँका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा विस्तार गरिएको महतोको भनाइ छ । नागरिक ओग्य सेवा केन्द्र मार्फत नागरिकको घर दैलोमा नै स्वास्थ्य सेवाको पहुच विस्तार गरिएको छ । ‘तीनवटा स्थानीय तह नारायण नगरपालिका, नौमूले गाउँपालिका र दुल्लु नगरपालिकामा पहिलेदेखि औषधालयबाट सेवा दिँदै आएका छौँ । अन्य आठ स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा दिन नागरिक आरोग्य सेवाकेन्द्र स्थापना गरिएको छ जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रबाट बार्षिक दश हजारले सेवा पाएका छन्, उनले भने । नागरिक आरोग्य सेवाकेन्द्र मार्फत नागरिकले आरोग्य सेवाकेन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पूर्वकर्म/पञ्चकर्म, स्तनपायी आमालाई दूधवर्धक औषधि वितरण लगायतका सेवा उपलब्ध गराइने निमित्त कार्यालय प्रमुख महतोले बताए ।
भैरवीमा नागरिक आरोग्य सेवाकेन्द्र स्थापना भएसँगै नागरिकलाई आयुर्वेद सेवा लिन सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले बताए । उनले नागरिक आरोग्य सेवाकेन्द्रलाई निरन्तरता दिन चुनौती रहेको बताउँदै स्वस्थ रहन आयुर्वेद उपचार महत्त्वपूर्ण रहेको बताए ।
दैलेखमा पछिल्ला वर्षमा आयुर्वेद स्वास्थ्यसेवा लिनेको संख्या बढ्दै गएको देखिन्छ । नागरिकले आयुर्वेद उपचारको महत्त्व बुझेसँगै सेवा लिनेको संख्या बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेख जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५