सुर्खेत: शिक्षामा गुणस्तर सुधारको पुछारमा रहेको कर्णाली प्रदेशको सुगम जिल्लाका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । बर्सेनि पाठ्यपुस्तक अभाव हुने यो समस्या भने नौलो भने होइन ।
पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतको लापरबाहीले बर्सेनि कर्णालीका विद्यार्थीले समयमै किताब पाउँदैनन् । जसका कारण कर्णालीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विस्तारै ओरालो लाग्दै गएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै तीन महिना बित्दा पनि प्रदेश राजधानीसमेत रहेको सुर्खेतका अधिकांश विद्यालयले किताब पाउन सकेका छैनन् । सुर्खेतकै विद्यालयको अवस्था यस्तो छ भने दुर्गम जिल्लाको अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।
वीरेन्द्रनगरस्थित अमरज्योति माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीले अझै पूरै किताब पाएका छैनन् । ‘शैक्षिक सत्र सुरु भएको ४ महिना बित्न लाग्दासमेत पूरै सेट किताब उपलब्ध गराउँन सकिएको छैन,’ प्रधानाध्यापक खगेन्द्र थापा भन्छन्, ‘किताब ढुवानीका लागि पुस्तक व्यवसायीहरूलाई जिम्मा दिएको छ । अहिलेसम्म सबै किताब आइपुगेका छैनन् ।’ पाठ्यपुस्तक पर्याप्त मात्रामा उपलब्ध नहुँदा बालबालिकाको पढाइ नै प्रभावित बनेको थापाको भनाइ छ ।
वीरेन्द्रनगरकै जन नमुना माध्यमिक विद्यालयमा पनि पूरै सेट किताब पुगेका छैनन् । वीरेन्द्रनगरमा विद्यार्थीको चाप बढी हुने विद्यालयहरूमा जन नमुना मावि, अमरज्योति, श्रीकृष्ण मावि तथा नेरा माविलगायतका विद्यालय पर्दछन् । अहिले यी विद्यालयमा कक्षा ६, ८ र ९ का पूरै सेट किताबको अभाव छ ।
किताब नहुँदा विद्यार्थीहरू शिक्षकले बोर्डमा लेखेका भरमा अध्ययन गर्न बाध्य छन् । सुर्खेतका अलावा दैलेख, जाजरकोट, कालिकोट, जुम्लालगायतका जिल्लामा किताबको निकै अभाव छ । पाठ्यपुस्तकको चरम अभाव भइरहे पनि सरोकारवाला निकायले बेवास्ता गरेको विद्यालय र अभिभावकहरूको गुनासो छ । किताब आपूर्तिका लागि स्थानीय र प्रदेश सरकारले कुनै पहल नथालेको शिक्षकहरू बताउँछन् ।
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक पठाउन नसकेको स्वीकार्दै आएको छ । तर, समस्या समाधानमा भने कार्यालय चुकीरहेको छ ।
जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा ८ को नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षालगायतका विषयका किताबहरूको अभाव रहेको बताए । स्थानीय तहको चुनावमा मतपत्र छपाइका कारण कर्णालीका विद्यार्थीले पुस्तक पाउन नसकेको केसीले दाबी गर्दै आएका छन् ।
यता व्यापारीहरू भने केसीको भनाइमा सहमत छैनन् । अस्मिता पुस्तक पसल सुर्खेतका निर्देशक कमल नेपाल केसीकै लापरबाहीले किताब अभाव भएको आरोप लगाउँछन् । नेपाल भन्छन्, ‘जुन समानुपातिक रूपमा किताब वितरण गर्नुपर्नेमा केसीजीको मिलेमतोमा कमिसन आउने लोभले सुर्खेतमा किताब अभाव बनाइएको हो ।’ आफ्ना अनुकुल मान्छेलाई सेटिङमार्फत आवश्यक नभएका ठाउँमा ढुवानी गर्दै आएको नेपालको आरोप छ ।
कर्णालीका १० वटै जिल्लामा ढुवानीको जिम्मा पाएका पुस्तक व्यवसायीले पछिल्ला केही दिनदेखि केन्द्रको प्रादेशिक कार्यालयलाई समयमै पुस्तक उपलब्ध गराउन ताकेता गरिरहेका छन् । पुस्तक व्यवसायीको छाता संगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, उद्योग वाणिज्य संघले १५ दिनभित्र अपुग पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् ।
जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक वितरणमा उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै हाल गोदाममा मौज्दात अपर्याप्त किताबसमेत वितरण नगर्ने व्यवासयीले घोषणा गरेका छन् । ६० हजार पुस्तक आवश्यक रहेको कर्णालीमा हालसम्म कक्षा चारदेखि १० सम्मका १४ लाख एक हजार सात सय ८९ थानमध्ये १३ लाख २९ हजार एक सय ४१ बिक्री भइसकेका छन् भने ७१ हजार ६ सय ३८ थान मौज्दात छन् । गोदाममा मौज्दात पुस्तकमध्ये कतिपय सडेका, पानीले भिजेका र अधुरा सेट छन् ।
कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा जेठदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकोमा विद्यार्थी र उनीहरूका अभिभावक आक्रोशित बनेका छन् ।





खुल्ला प्रेस । २७ श्रावण २०७९, शुक्रबार २१:४३