कर्णाली कप रेटिङ चेस प्रतियोगितामा ८४ खेलाडीबीच प्रतिस्पर्धा

सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय ‘कर्णाली कप’ रेटिङ चेस प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग, नेपाल बुद्धिचाल महासंघको समन्वय तथा कर्णाली प्रदेश बुद्धिचाल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिता असार २२ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका ८४ जना खेलाडीले सहभागिता जनाएका छन् । १० वर्षदेखि ७२ वर्ष उमेर समूहसम्मका खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ । कर्णाली प्रदेश बुद्धिचाल संघका अध्यक्ष कार्लमाक्स श्रेष्ठका अनुसार प्रतियोगिताका लागि विभिन्न जिल्लाबाट खेलाडी तथा व्यवस्थापकहरू वीरेन्द्रनगर आइपुगेका छन् । सहभागी सबैका लागि खानपान र बसोबासको आवश्यक व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले कर्णालीमा लुकेर रहेका बुद्धिचालका प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरमा चिनाउने, खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने तथा आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सक्षम खेलाडी तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । कर्णाली प्रदेश बुद्धिचाल संघका अध्यक्ष कार्लमाक्स श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले गरेका थिए । साथै कर्णाली प्रदेशका विभिन्न जिल्लाका बुद्धिचाल संघका अध्यक्ष, पदाधिकारी, खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख २९ हजार रुपैयाँ रहेको छ । विभिन्न उमेर समूहका खेलाडीबीच हुने प्रतिस्पर्धाले कर्णाली प्रदेशमा बुद्धिचाल खेलको विकास, विस्तार र नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५