निर्वाचन बारे ओलीकाे टिप्पणी जनताको फैसला स्वीकार गर्छु

काठमाडाैंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफूले सोचेजस्तो नआएको स्वीकार गरेका छन् । बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले जनताको मतलाई पूर्णरूपमा स्वीकार गर्ने बताएका हुन् ।

लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गर्नु आफ्नो र मेरो पार्टीको कर्तव्य भएको उनको भनाइ छ । ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,’ उनले लेखेका छन्, ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’

निर्वाचन परिणाम आफू र पार्टीको पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको उनले उल्लेख गरेका छन् । ‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उनले लेखेका छन्, ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।’

ओली झापा-५ मा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग भारी मतान्तरले पराजित भएका थिए । रास्वपाले दुई तिहाइ करिब जनमत पाएको प्रतिनिधि सभा चुनावमा एमाले निकै कम सिटका साथ तेस्रो भएको छ । एमालेले प्रत्यक्षमा ९ सिट मात्रै जितेको छ भने समानुपातिकमा पनि ९ सिट नै पाउने सम्भावना छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५