गरिबी हटाउनु कर्णालीको मुख्य चुनौती : मुख्यमन्त्री शर्मा

फाइल फाेटाे

रुकुम: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको बाटोमा रहेको बताएका छन्। कर्णालीलाई समृद्ध बनाउन निकै चुनौती भए पनि त्यो पूरा गरेरै छाड्ने उनले बताए।

नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमले सदरमुकाम मुसीकोट खलङ्गामा  मंगलबार आयोजना गरेको कार्यक्रममा उनले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको र गरिबी निवारण सरकारको पहिलो प्राथमिकता रहेको बताए।

आफूले पदभार ग्रहण गर्दा एक वर्षमा १० हजार बेरोजगारलाई रोजगारी दिने निर्णयमा हस्तारक्षर गरेको मुख्यमन्त्री शर्माले बताए। रोजगारीसँग जोडेर पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने उनले स्पस्ट पारे।

‘हामीले गरिबी अन्त्य गर्ने भनेका छौँ, यसका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भनेका छौँ।’ विकटलाई निकट बनाउन प्रदेश सरकारले सडक पूर्वाधारलाई प्राथमिकता दिएको पनि मुख्यमन्त्री शर्माले बताए। बर्दियाको भुरिगाउँदेखि चीनको सिमाना ताक्लाकोटसम्म जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको उनले जानकारी गराए।

लुम्बिनी प्रदेशदेखि चीनको सिमानासम्म सडक जोडेर कर्णाली प्रदेशलाई सुगम बनाउन व्यवस्थित सडक बनाउने, कर्णाली करिडोर र भेरी करिडोरलाई डोल्पाको धोसम्म पुर्‍याउने, मध्यपहाडी लोकमार्गलाई टनेलबाट जुम्ला पुर्‍याउने, राप्ती राजमार्गलाई रुकुम पश्चिमको छरेवगरसम्म व्यवस्थित गर्ने र लुम्बिनीदेखि रारा जोड्ने योजनालाई प्राथमिकता दिइएको मुख्यमन्त्री शर्माले उल्लेख गरे।

कर्णालीमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय र प्रशासनिक सङ्घीयता अझै आइनसकेको समेत उनले बताए। मानव सूचकाङ्कमा पछाडि परेको कर्णालीलाई माथि उठाउन सङ्घीयता व्यवहारमै लागू हुनुपर्ने भनाइ उनको छ। साधन स्रोतका आधारमा कर्णाली निकै सम्पन्न भए पनि त्यसको परिचालन सहीरुपमा हुन नसक्दा कर्णालीले लाभ लिन नसकिरहेको उनको बुझाइ छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५