काठमाडौँः देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्य उपस्थित रहन निर्देशन दिएको छ।
मन्त्रालयको स्थानीय तह समन्वय शाखाले जारी गरेको परिपत्रमार्फत जिल्ला समन्वय समिति तथा स्थानीय तहका कर्मचारीलाई विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नियमित रूपमा कार्यालयमा उपस्थित रहन भनिएको हो।
परिपत्रमा विपद्को अवधिभर कर्मचारीले कार्यालय नछोडी समन्वय, सहजीकरण र आवश्यक निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ। साथै, हाल बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याएर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले विपद्सम्बन्धी सूचना संकलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण संकलन र आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश सरकार तथा संघीय निकायसँग निरन्तर सम्पर्कमा रहन स्थानीय तहलाई आग्रह गरेको छ।
विशेष परिस्थितिका कारण कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिनुपर्ने र जिम्मेवारीको उचित व्यवस्थापन गरेर मात्र कार्यालयबाट बाहिर जानुपर्ने मन्त्रालयले जनाएको छ।
विपद्को जोखिम बढिरहेका बेला नागरिकलाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन तथा राहत र उद्धार कार्यलाई व्यवस्थित बनाउन उक्त निर्देशन जारी गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।




खुल्ला प्रेस । ४ श्रावण २०८३, सोमबार २०:१७