दैलेख: बास नेपाल दैलेखले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नारायण नगरपालिकालाई युवामैत्री कार्यक्रमको बनाउनको लागि सुझाव पत्र बुझाएको छ। मङ्गलवार कार्यवाहक नगरप्रमुख तप्ता कुमारी थापालाई हस्तान्तरण गरिएको हो।
बेरोजगार युवालाई रोजगारको अवसर, शैक्षिक योग्यताको आधारमा ऋण सुविधा, र युवा लक्षित कार्यक्रम निर्माणका अन्तर्राष्ट्रिय युवा दिवस-2025को अवसरमा सुझाबपत्र बुझाइएको बास नेपाल दैलेख शाखाका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।अधिकारीका अनुसार, पालिकाले बनाउने नीति, नियम र कार्यविधिमा युवाको अर्थपूर्ण संलग्नता र साझेदारी सुनिश्चित गर्नुपर्ने, साथै जनसांख्यिक, धर्म, वर्ग, लिङ्ग, जातजाति र समुदायको आधारमा प्रतिनिधित्व र समावेशीकरणमा जोड दिनुपर्ने माग गरिएको छ।
कार्यवाहक प्रमुख थापाले सुझाव पत्र ग्रहण गर्दै युवाको मागलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम र नीतिमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरिन। नगर सरकारले बनाउनुपर्ने धेरै नीति, नियम र कार्यविधि बनाइसकिएको जानकारी दिँदै छुटेका नीति नियम बनाउन यस सुझाव पत्रले सहयोग पुग्ने बताइन ।
सुझाव पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुदलगायत क्षेत्रहरूमा युवाको सहभागिता प्रवर्द्धन गर्न सक्ने नीतिहरू तर्जुमा र कार्यान्वयन गर्नुपर्ने, साथै ती क्षेत्रको अनुगमन र मूल्याङ्कनमा पनि युवाको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्ने उल्लेख छ।नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय युवा नीति २०७२, यूथ भिजन २०२५ लगायतका कानुन, नीति र रणनीतिहरूलाई प्रभावकारी कार्यान्वयन गर्दै युवालाई शासकीय प्रक्रियामा जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस २०२५ “दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता, समृद्धिको आधार” भन्ने नारासहित साउन २७ गते मनाइने गरिन्छ।पालिकाले बनाउने नीति, नियम, कानुन तथा कार्यविधि युवाको अर्थपूर्ण संलग्नता, सहभागिता साझेदारीको सुनिश्चितता गरियोस् । युवाको जनसाँख्यिक धर्म, वर्ग लिङ्ग जातजाति समुदायको आधारमा प्रतिनिधित्व र समावेशितामा जोड दियोस् लगायतका २३ बुँदामा सुझाव दिएको छ । बास नेपालले पालिकाबाट प्रस्तुत सुझावहरूको कार्यान्वयनमा अपेक्षा राखेको जनाएको छ।




खुल्ला प्रेस । २८ श्रावण २०८२, मंगलवार १२:५८