कृष्णकमल अधिकारी
दैलखः दैलेखका स्थानीय सरकारले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने एवम् अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न सक्रियता नदेखाउँदा जिल्ला भूमि समस्या समाधान समिति दैलेख काम विहीन बनेको छ ।
जिल्लाका ११ वटा स्थानीय तहका भूमि विहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने गरी २०८२ जेठ १९ गते बनेको समिति २ महिनामै काम विहीन बन्न पुगेको छ। बुधवार जिल्ला प्रशासन कार्यालयमा भएको भूमि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीय तहले गर्नुपर्ने काम नगरिदिँदा भूमि समस्या समाधान समितिलाई दिएको डेटलाइनमा काम गर्न समस्या पर्ने देखिएको बताइएको छ ।
समितिका अध्यक्ष, सदस्य सचिव सहित जिल्लाका राजनैतिक दलका प्रतिनिधि, पत्रकार सहितको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । अन्तरक्रियामा कस्तो जग्गा दिन मिल्छ, कसरी दिने कसको भूमिका कहाँ रहन्छ भन्ने विषयमा जानकारी गराइएको थियो ।यसमा सबै भन्दा बढी भूमिका वडा तथा स्थानीय सरकारको देखिन्छ ।स्थानीय सरकारले समयमै काम नसके कुनै पनि काम अगाडि बढ्न नसक्ने हुँदा जिल्ला समिति सक्रिय भएपनी स्थानीय तहबाट गरिनुपर्ने काममा ढिलाइ हुँदा काम प्रभावित बनेको देखिन्छ ।
बि.सं. २००७ सालमा बनेको आयोग बेला बेलामा विभिन्न चरणमा नाम परिवर्तन गरी हालको अवस्थामा आएपनी दैलेखका भूमि विहीनहरूको समस्या समाधान भएको छैन । सरकारले पछिल्लो पटक दैलेखको हकमा २ सय दिनको समय दिएर समस्या समाधान गर्न डेटलाइन दिएको छ ।
स्थानीय सरकारलाई नै जबाफदेही हुने गरी अधिकार दिएपनी स्थानीय सरकारले गर्नुपर्ने काम नगरिदिँदा समस्या भएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताए । उनले स्थानीय तहको जिम्मेवारी धेरै भएको र समयमा काम नगरिदिँदा समिति अहिले काम विहीन बनेको र स्थानीय सरकारलाई यस विषयमा सक्रिय भूमिका खेलिदिन अनुरोध जानकारी दिए ।
यस्तो छ स्थानीय तहको जिम्मेवारी

दैलेखमा ३ हजार ७ सय ५७ जनाले निवेदन दिएकोमा ५८ वटा निवेदन मापदण्डमा नपरी अस्वीकृत भएको समितिको तथ्याङ्कले देखाउँछ ।तथ्याङ्क अनुसार भूमिहीन दलितको सङ्ख्या २ यस ४८, भूमिहीन सुकुम्वासीको सङ्ख्या ८६ अव्यवस्थित बसोबास गरेकाको सङ्ख्या दैलेखमा ३ हजार ३ सय ६५ रहेको छ ।
कार्यक्रममा सहभागिहरुले यो समस्याको समाधानका लागि सबैले आ-आफ्नो ठाउँबाट लाग्ने र डेटलाइन भित्रै समस्याको समाधान गर्न सहयोग गर्ने धारण व्यक्त गरेका छन् ।




खुल्ला प्रेस । २१ श्रावण २०८३, बिहीबार १६:३५