७ पालिकाको नतिजा आउँदा तीनमा एमाले, कांग्रेस र समाजवादी दुई-दुई स्थानमा विजयी

काठमाडौंः स्थानीय तहको निर्वाचन-२०७९ मा ७ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। यीमध्ये ३ वटा पालिका नेकपा एमालेले जितेको छ। नेपाली कांग्रेस र एकिकृत समाजबादीले २/२ पालिकामा जित हासिल गरेका छन्।

मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० कुल मत खसेकोमा उनले ३२० मत प्राप्त गरेका थिए। उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा भने कांग्रेसले नै जितेको छ।

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्। २०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए।

यसैगरी मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामाले जितेका छन्। १५८ मतसहित लामा गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत प्राप्त गरे। कुल खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका थिए। ०७४ सालको निर्वाचनमा उक्त गाउँपालिकामा नेपाली कांग्रेसले निर्विरोध जित हासिल गरेको थियो।

मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्। लालचनले एमालेका सञ्जयकुमार थकालीलाई २ मतको झिनो अन्तरले पराजित गरेका थिए। लालचनले ७६० मत ल्याउँदा थकालीले ७५८ मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा नेकपा एमालेका आसबहादुर थकाली निर्वाचित भएका थिए। उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगरले जितेकी छिन। उनले ६ सय ९३ ल्याउँदा एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन्।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। अध्यक्षका एमाले उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। अध्यक्षका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन्। कान्छा यसअघि पनि अध्यक्ष थिए।

उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन्। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन्। राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन्। मनाङमा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको थियो।

डोल्पाका दुई पालिकामा यसअघि नै निर्विरोध अध्यक्ष चुनिएका थिए। उनीहरु नेकपा एकीकृत समाजवादीका हुन्। डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध हुँदा डोल्पाकै छर्का ताङसोङ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीकै सोनाङ गुरुङ निर्विरोध भएका थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५