काठमाडौं: सुर्खेत, दैलेख र अछाममा अहिले पानी परिरहेको छ । ती जिल्लामा थप वर्षाको सम्भावना रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासका नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । गए राति पनि सुर्खेत, दैलेख, अछामसहित देशका सबैजसो क्षेत्रमा पानी परेको थियो । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा लेदोसहित बाढी आएको छ ।
बाढीका कारण एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । केही दिनयता देशभर मनसुन सक्रिय भएकाले वर्षा हुने क्रम बढेको छ । काठमाण्डौ उपत्यकामा गए राति लगातार वर्षा भए पनि अहिले भने पानी पर्ने क्रम रोकिएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकरदुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एकरदुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी–नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकरदुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ । ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।




खुल्ला प्रेस । २१ असार २०८३, आईतवार १०:००