बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

काठमाडौं: सरकारले गएको शुक्रबार र शनिबार परेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म यो विपत्तिबाट २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । यस्तै १५८ जना घाइते भएका छन् । सरकारले बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड, सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड, उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पार्ने जानकारी मुख्य सचिव अर्यालले दिए । यस्तै खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र एकद्धार प्रणालीमार्फत राहत वितरण गर्ने सरकारले योजना बनाएको पनि उनले जानकारी दिए । घरबारबिहीन भएकालाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए ।

ठूलो विपदका लागि पूर्वतयारी थिएन: ओली
प्रधानमन्त्री केपी ओलीले सरकारले यति ठूलो बाढी पहिरो आउला भनेर पूर्वानुमान नगरेको बताए । पूर्वानुमान नगरेका कारण तयारी पनि त्यस किसिमको नभएको उनले स्विकार गरे । ‘हाम्रो तयारी यस प्रकारको विपत्तिका लागि थिएन । यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन,’ ओलीले भने ।

‘पहिला यस प्रकारका ठूला विपदका घटना कमै हुने गर्थै, त्यसैअनुसार पूर्व तयारी गरिन्थ्यो । अहिले ठूलै विपत्ति आइलाग्यो’ उनले भने । विपद आइसकेपछि भने सरकारले राहत तथा उद्दारमा सक्दो गरेको प्रधानमन्त्री ओलीले दावी गरे । ‘सरकारले केही गर्दै नगरेको होइन । सक्दो गरेको छ’, उनले भने, ‘केही कमजोरी भएको हुनसक्छ । त्यस्तो छ भने आगामी दिनमा सच्याउनुपर्छ ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५