नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनको चर्को आलोचना गरेका छन् । पाँच दलीय गठबन्धनलाई प्रतिगमनकारीको सँज्ञा दिँदै ओलीले गठबन्धनले देशलाई दिशाहीन अवस्थामा पुर्याउने प्रयास गरिरहेको आरोप लगाए ।
शनिबार देशभरका पार्टी वडा अधिवेशनको भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्दै ओलीले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दाबी गरे । पाँच दलीय गठबन्धनले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पारेर प्रतिगामी शक्तिहरूको सेवा गरिरहेको उनको जिकिर थियो ।
‘प्रतिगामी शक्तिहरू देशलाई अस्थिरतामा धकेल्ने काम गरिरहेका छन् । यो ३ महिनाको अवधिमा देखिसकियो– देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमनमा व्यवधान खडा गर्ने, अग्रगमन हुन नदिने, स्वेच्छाचारिता, मनपरीतन्त्र देशमा लागू गर्ने, अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने, यस खालका क्रियाकलापहरू हामीले देखिराखेका छौँ,’ ओलीले भने, ‘यो विपरीत बाटो हो । यो प्रतिगमनतर्फको बाटो हो ।’
ओलीले थपे, ‘संविधानको कार्यान्वयनको सन्दर्भमा, राजनीति परिचालनको सन्दर्भमा, जनतामा रहेको सार्वभौमसत्ता, त्यसको अपव्याख्या गरेर अन्तै सार्न खोज्ने प्रयासको सन्दर्भमा अहिले भएका र भइरहेका गतिविधिहरू प्रतिगामी गतिविधिहरू हुन् ।’
यसको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको ओलीको आरोप छ । ‘त्यो पाँच दलीय भनिएको गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो,’ उनले भने, ‘जो कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने, कम्युनिस्ट आन्दोलन फुटाउने र प्रतिक्रियावादीहरूको पाउमा सेवा अर्पण गर्ने र दक्षिणपन्थी नेतृत्वको दक्षिणपन्थी जनविरोधी, दिशाहीन त्यस्तो सरकार निर्माण गर्ने काम गरिरहेको छ ।’
आगामी निर्वाचनमा आफ्नो पार्टीले हरेक तहमा शानदार बहुमत ल्याउने उनको तर्क थियो । ओलीले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको दाबी गरे । ‘आगामी निर्वाचनमा हरेक तहमा शानदार ढंगले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौँ,’ उनले भने ।
‘एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अब एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरू चलाइए,’ ओलीले भने, ‘ती बेकारका बलेँसीका पानी रहेछन् भन्ने कुरा स्पष्ट भइसक्यो । यी बलेँसीका पानीका फोका हुन्, तिनको आयू लामो छैन ।’
ओलीले पार्टीमा उन्नत स्तरको एकता रहेको दाबी समेत गरे । माधव नेपालसमेत बाहिरिएपछि पार्टी एकताबद्ध रहेको उनको भनाइ थियो । सिलापत्रमा समाचार छ ।
खुल्ला प्रेस । ६ कार्तिक २०७८, शनिबार १९:२३