कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

दैलेख : कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा दैलेखका योगेन्द्र शाही नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चामुण्डाविन्द्रासैनी नगरपालिका-४ बुडेली निवासी शाहीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

राजनीतिक तथा बौद्धिक व्यक्तित्वको रूपमा परिचित शाही यसअघि आयोगको सदस्य थिए। आयोगको उपाध्यक्षमा नियुक्त शाहीले बिहीबार शपथग्रहणसँगै पदभार सम्हालेका छन्।

२०७६ देखि २०७८ सम्म कर्णाली प्रदेश योजना आयोगको भूमिकामा रहेका शाहीले युथ भिजन २०२५ निर्माण कार्यदलको संयोजक भइ काम गरिसकेका छन्। शाही सन् २००७ देखि २०११ सम्म विश्व प्रजातान्त्रिक युवा संघको उपाध्यक्ष भइ विश्वका ६० भन्दा बढी देशमा प्रतिनिधि तथा वक्ताका रूपमा सहभागिता जनाएका थिए।

अन्तर्राष्ट्रिय राजनीतिक पार्टीहरूको सम्मेलनका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकारका रूपमा विभिन्न देशमा गई कार्य गरेका शाही नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सचिवको भूमिकामा थिए। उनी एमाले परित्याग गरेर नेकपा (माओवादी केन्द्र)को तर्फबाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थिए। माओवादी केन्द्रबाट टिकट पाएका शाही दैलेख निर्वाचन क्षेत्र नं. २ (ख) मा नेकपा एमालेका विनोदकुमार शाहसँग पराजित भएका थिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाम राजनीति, विकास भूमि तथा प्राकृतिक स्रोत व्यवस्थापनबारे खोजमूलक लेख तथा पुस्तक प्रकाशन गरेका शाही विद्यावारिधि (पीएचडी) तहमा अध्ययनरत छन्। जवाहरलाल नेहरू विश्वविद्यालय नयाँ दिल्ली भारतबाट क्षेत्रीय विकासमा एमफिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट भूगोल र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५