अख्तियारमा उजुरी पर्नेमा दैलेख दाेस्राे

दैलेखः अख्तियार दुरूपयोग अनुसन्धान आयाेगकाे कार्यालय सुर्खेतमा उजुरी पर्नेमा दैलेख दाेस्राे भउकाे छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा बर्सेनि उजुरीको संख्या बढ्दो क्रममा देखिन्छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेतकाे धेरै उजुरी पर्ने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सुर्खेतपछि दैलेख, मुगु, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, सल्यान, रुकुम (पश्चिम), डोल्पालगायतका जिल्लाका उजुरी परेको आयोगका निमित्त प्रमुख भेषराज रिजालले जानकारी दिए । उनका अनुसार क्षेत्रगत रूपमा भने स्थानीय तह, शिक्षा, वन, ऊर्जा तथा सिँचाइलगायतसँग सम्बन्धी उजुरी धेरै परेका छन् ।

आयोगको सुर्खेत कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ मा सात सय ८० उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट ६ सय ४५ उजुरी जिम्मेवारी सरेर आएका थिए । यसरी आयोगमा एक हजार चार सय २५ उजुरी परेका हुन् । जसमध्ये आठ सय ९० उजुरी फर्छ्याेट भएका छन् भने पाँच सय ३५ उजुरी यो वर्षका लागि जिम्मेवारी सरेको जनाइएको छ ।

सुर्खेतका दुई सय ९१ उजुरी दर्ता हुँदा दैलेखकाे दुई सय ३९, मुगुकाे एक सय ४९, कालिकोटकाे एक सय ४४ र हुम्लाकाे एक सय ४२ उजुरी आयोगमा दर्ता भएका छन् । यस्तै जाजरकोटकाे एक सय ३६, जुम्लाकाे ९५, सल्यानकाे ९४, रुकुम–पश्चिमकाे ७५ र डोल्पाकाे ५५ उजुरी सुर्खेतस्थित अख्तियारको कार्यालयमा परेकाे हाे ।

त्यसैगरी प्रदेशका ७९ वटा पालिकामध्ये सबैभन्दा धेरै वीरेन्द्रनगरकाे उजुरी रहेको छ । त्यसपछि सुर्खेतकै भेरीगंगा नगरपालिका पनि धेरै उजुरी पर्नेमा गर्दछ । मुगुको सोरु गाउँपालिका र छायाँनाथ रारा नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका र सर्केगार्ड गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका र महावु गाउँपालिका तथा हुम्लाको अदानचुली गाउँपालिकासँग सम्बन्धित उजुरी अख्तियारमा धेरै पर्ने गरेकाे छ । कार्यालय निमित्त प्रमुख रिजालले उजुरी संकलनसँगै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५