कृष्ण अधिकारी
दैलेखः दुल्लु नगरपालिकामा ”एक विद्यार्थी, एक फलफूल विरुवा” कार्यक्रम संचालन गरिने भएको छ । दुल्लु नगरपालिकाको १९ औं नगरसभामा प्रस्तुत आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा बातावरण संरक्षण र हरित विकासमा टेवा पुर्याउने उद्देश्यले नगर भित्र ”एक विद्यार्थी, एक फलफूल विरुवा” कार्यलाई अभियानकै रुपमा संचालन गरिने गरिने भनिएको छ ।
शनिबार नगरपालिकामा १९औं सभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भरतप्रसाद रिजालले कार्बन उत्सर्जन घटाउन वृक्षारोपण, सुधारिएको चुलो, बायो-ग्याँस र विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गरिने र ”एक विद्यार्थी, एक फलफूल विरुवा” अभियान चलाइने बताए ।
विषय गत रुपमा नगरपालिकाले तय गरेका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख रिजालले आर्थिक विकासमा कृषि विकास तथा खाध्य सुरक्षा, पशुपंक्षी विकास, रोजगार,उद्योग तथा उद्यमशिलता विकास, सहकारी, नीजि क्षेत्र र वित्तीय पहुँच, पर्यटन, संस्कृती तथा पुरातात्विक संरक्षण सामाजिक विकासमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत स्वास्थ्य तथा सरसफाइ, सामाजिक सुरक्षा तथा पञ्जीकरण खानेपानी तथा स्वच्छता, शिक्षा, यूवा र खेलकुदमा शैक्षिक सुशासन र गुणस्तर, विद्यार्थी कल्याण, मनोसामाजिक परामर्श र स्वास्थ्य युवा सशक्तिकरण र उद्यमशिलता,खेलकुद विकास पुर्वाधार विकास, वन, तथा वातावरण तथा विपद् व्यवस्थापनमा वातावरण संरक्षण र हरित विकासको लागि ”एक विद्यार्थी, एक फलफूल विरुवा” सुशासन तथा संस्थागत विकास सहित १०४ बुँदामा प्रस्तुत गरे ।
आफु निर्वाचित भएदेखि दुल्लुको विकासमा लागि परेको र यो अन्तिम कार्यकालको नीति तथा कार्यक्रम भएकोले यसमा केही नयाँ कार्यक्रम राखिएको नगर प्रमुखले बताएका छन् ।

बजेट वक्तव्यमा पनि ”एक विद्यार्थी, एक फलफूल विरुवा” प्राथमिकता
नगर उप प्रमुख विना कार्कीले प्रस्तुत गरेको नगरपालिको कुल १ अर्व ५ करोड ७० लाख ४९ हजार मध्य ३२ लाख बजेट विनियोजन गरिएको छ । विद्यालयलाई डिजिटल मैत्री बनाउन र आवश्यक पूर्वाधार स्थापनाको लागि ३५ लाख बजेट विनियोजन गरिएको छ ।
विद्यालयमा आवश्यक पाठ्यपुस्तक लेखन छपाईका लागि ३१ करोड ९३ लाख बजेट विनियोजन गरिएको छ । सामाजिक सुरक्षा तथा पञ्जिकामा २४ करोड १० लाख बजेट विनियोजन गरिएको छ । नगर सभामा उप प्रमुख कार्कीले ५९ बुँदामा बजेट प्रस्तुत गरेकी थिइन ।
एक वडा एक कृषि उत्पादन नारालाई कार्यान्वयनमा लैजाने
कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बिउ बैंक सुदृढीकरण कार्यक्रम राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम, खेल जातमा मसिना तथा बास्नादार धान बिउ उत्पादन, किसान सुदृढिकरण कार्यक्रम, फलफूल पकेट क्षेत्र विकास तथा एक वडा एक कृषि उत्पादन नारालाई कार्यान्वयनमा लैजान कृषि विकास शाखा व्यवस्थापन सहित ६० लाख विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रमबाटै सबै कर्मचारीको तलब भत्ता न्यूनतम पारिश्रमिक बराबर बनाइएको छ ।नगरभित्रका विद्यालय कार्यालय सहयोगी लेखाका कर्मचारी तथा न्युनतम पारिश्रमिक भन्दा कम तलब भत्ता हुने सबै कर्मचारीको तलब यस आर्थिक बर्षमा १९,५००।दिइने नगर प्रमुखले जानकारी दिए ।
युवा रणनीति विधेयक पारित
नगरसभाको उद्घाटन सत्रमै आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरिनुका साथै युवा रणनीतिसम्बन्धी विधेयक समेत पारित गरिएको छ। युवाहरूलाई स्थानीय विकास प्रक्रियामा सहभागी गराउने, रोजगारी तथा उद्यमशीलता प्रोत्साहन गर्ने र नेतृत्व विकासका अवसर सिर्जना गर्ने उद्देश्यले उक्त रणनीति ल्याइएको जनाइएको छ।
त्यसैगरी विभिन्न विषयगत समितिहरूका प्रतिवेदनहरू समेत सभामा पेश गरिएको छ। आगामी बैठकहरूमा थप महत्वपूर्ण विधेयक, नीति तथा योजनामाथि व्यापक छलफल गरी पारित गरिने कार्यक्रम रहेको छ।





खुल्ला प्रेस । ६ असार २०८३, शनिबार २१:०७