पोखरामा विश्वकै भिरालो ‘सुपरम्यान जिपलाइन’ खेल्न पाइने, गिनिज बुकमा दर्ता गर्न आवेदन

काठमाडौं-  ‘जिप फ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सञ्‍चालन गरिरहेको विश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरुवात गरिएको छ।

सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको  हाइग्राउण्डले एक दशकपछि आफ्ना ग्राहकलाई फरकपनको महसुस गराउन सुपरम्यान जिपलाइन सुरु गरेको बताइएको छ ।

समुन्द्री सतहखि एक हजार पाँच सय पचास मिटरको उचाइमा रहेको सराङ्‌कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ। यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अरु नभएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’का रुपमा दर्ता गर्न आवेदन दिएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेस महर्जनले जानकारी दिए।

विश्वकै लामोमध्येको उक्त जिपलाइनको एक हजार ८ सय पचास मिटर दूरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १४० किलोमिटर प्रति घण्टाको गतिमा अधिकतम समय एक मिनेट लाग्‍ने महर्जन बताउँछन्।

पोखराबाट नागबेली बाटो काट्दै करिब ४५ मिनेटको यात्रामा सराङ्‍‌कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा सहर अनि सराङ्‌कोटको शीरबाट उत्तरमा माछापुच्छ्रे, अन्‍नपूर्णलगायतका हिमालहरुको दृश्यावलोकन गर्ने मौका पाइन्छ।

३५ देखि १२० किलोग्रामसम्म तौल भएका व्यक्तिले खेल्न सक्ने जिपलाइनमा १२ वर्षदेखि माथिकाले खेल्न सक्छन्। ९४ वर्षीय बेलायतकी नागरिक जुन स्कट अहिलेसम्म जिपलाइन गर्ने सबैभन्दा ज्येष्ठ नागरिक रहेको महर्जन बताउँछन्।

हरेक दिन सबै उपकरणको सेफ्टी इन्सपेक्सन गरिने र हरेक महिना मर्मतको काम हुने साथै हरेक वर्ष जिप फ्लायर अमेरिकाका प्राविधिकले सिफ्टी अडिट गर्ने महर्जन बताउँछन्। सो जिपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जिपलाइनको विश्‍वविख्यात, उत्कृष्ट र सुरक्षित रहेको महर्जन बताउँछन्। हाइग्राउण्डले प्रयोग गरेको ट्रली, हार्नेस, वायरलगायतको प्रविधि नेपालमा अरु कुनै जिपलाइनमा नभएको महर्जन बताउँछन्।

नेपालीलाई ६ हजार पाँच सय र विदेशीलाई आठ हजार पाँच सय रहेको सुपरम्यान जिपलाइनको फोटो भिडियो र टिसर्ट प्याकेजको अतिरिक्त एक हजार ५ सय रहेको छ।

‘अगाडि माछापुच्छ्रेको दृश्यले मोहित पार्दै छ भने तल हेम्जा फाँटको ग्राउण्ड स्टेशन हेर्दा मनै सिरिङ्ग हुन्छ,’ महर्जन थप्छन्, ‘हिमालको चिसो झोँक सँगै हुत्तिन पाउनु यहाँको अर्को आकर्षण हो।’

जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको टावरमा बन्जी गर्न सकिन्छ।’ यो नेपालकै पहिलो टावर बन्जी पनि हो,’ महर्जन थप्छन्, ‘जोडीलेसँगै आङ्गालो मारेर बन्जी गर्ने टेन्डम बन्जी पनि नेपालमा हामीले नै सुरु गर्‍यौं।’

जिपलाइन र बन्जी गर्ने ग्राहकलाई पिक एण्ड ड्रपको व्यवस्था पनि कम्पनीले नै गर्ने र  अतिरिक्त शुल्क नलाग्‍ने जनाइएको छ। कम्पनीले हेम्जामा छिट्टै विभिन्‍न एडभेन्चर खेलहरु पनि थप्‍ने योजना रहेको बताइएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५