चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ ।

एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरुका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सवै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ ।

‘सुरुमा केन्द्रीय कार्यालयको बैठक बस्छ । केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठक बोलाउँछ । सचिवालयले स्थायी कमिटी, स्थायी कमिटीले पोलिटब्युरो र पोलिटब्युरोले केन्द्रीय कमिटी बैठक बोलाएर निर्वाचन लक्षित कार्यक्रम र कार्ययोजना तय गरिन्छ’।

एमालेका एक पदाधिकारीले भने, ‘सम्भवतः बुधबार बेलुका केन्द्रीय कार्यालयको बैठक बसेर बिहीबारलाई सचिवालय बैठक तय गर्छ । त्यसपछि लगातार बैठकको मिति तय गरिन्छ ।’ एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताए ।

‘बैठक बस्ने निश्चित हो । तर समय तय भैसकेको छैन । आज भोलिभित्रै सचिवालय बैठक बसेर अरु बैठक कहिले कहिले बस्ने भन्ने टुङ्गो लाग्छ’, उपमहासचिव रिमालको भनाइ छ ।

 एमालेको विधानअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्ने जिम्मा केन्द्रले नै पाएको छ । तर विगतको परम्पराअनुसार औपचारिकता लागि प्रदेश र जिल्ला कमिटीबाट समेत सम्भावित उम्मेदवारबारे सुझाव माग्न सकिने एमाले नेताहरुको भनाइ छ ।

  ५ दलीय सत्ता गठबन्धन मिलेर चुनाव लड्ने तयारी गरिरहेका बेला एमालेले उम्मेदवार छनोट गर्दा जित्न सक्ने र टिक्न सक्ने उम्मेदवारको खोजी गर्ने बताउँदै आएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५