काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणसम्बन्धी ठूला योजनालाई बिनारोकावट सञ्चालनको व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।बुधबार मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा मन्त्री शर्माले यस्तो बताएका हुन् ।
झण्झटिलो कानुन र विभिन्न प्रकारका रोकावटले ठूला आयोजना प्रभावित हुँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उनको धारणा छ । ‘अख्तियार, कानुन तथा अदालतलगायतका कानुनी प्रावधनले ठूला आयोजना रोकिनु हुँदैन भन्ने सरकार चाहन्छ,’ मन्त्री शर्माले भने, ‘ठूला योजना बिनारोकावट सञ्चालन हुने नीति सरकारले बनाउनुपर्छ ।’ राजनीतिक र अन्य प्रकारका आधारमा योजना वर्गीकरण गर्न आवश्यक रहेको उनले बताए । कानुन निर्माताहरूले ठोस अध्ययन नगरीकनै कानुन पास गरिदिँदा केही समस्या निम्तिएको उल्लेख गर्दै अब सूक्ष्म अध्ययन गरेर कानून निर्माण गर्न मन्त्री शर्माले मातहत निकायका कनुनसम्वद्ध कर्मचारीलाई निर्देशन दिए ।
विकास निर्माणसम्बन्धी नीति बनाउँदा अन्तर निकाय समन्वय र एकरुपता आवश्यक रहे पनि अहिलेको अवस्थामा त्यस्तो हुन नसकिरहेको मन्त्री शर्माको भनाइ छ । ‘नीति, निर्माताका यस्तै हरेक टेबल–टेबलमा आफ्नै किसिमको मनमौजीले विकास निर्माणका कार्यहरू रोकिने गरेका छन् । अब त्यस्तो मानसिकता त्याग्नुपर्छ,’ मन्त्री शर्माले भने । वर्तमान खरिद कानुन, पुँजीगत खर्चको लक्ष्य प्राप्तिमा समस्या, निकायगत समन्वय, वित्तीय अनुशासनलगायत विषयमा भएको बैठकमा सरकारका मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी साथै सम्बन्धित मन्त्रालयका उच्च कर्मचारी सहभागि थिए ।
खुल्ला प्रेस । १ मंसिर २०७८, बुधबार १९:३८