महाधिवेशन गर्न कार्यकर्ताबाट ७ करोड २० लाख उठाउँदै एमाले

काठमाडौं : नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा हुने खर्च पार्टी सदस्यहरूबाटै उठाउने भएको छ। बुधबार बसेको एमालेको १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तीमा १ सय रुपैयाँका दरले रकम संकलन गर्ने निर्णय गरेको हो।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार देशभर एमालेका संगठित सदस्य ७ लाख २० हजार रहेका छन्। ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुने उनको भनाइ छ। संगठित सदस्यहरुले अनलाइनमार्फत् पार्टीको खातामा पैसा जम्मा गर्नुपर्ने उनले बताए।

त्यस्तै बुधबारको बैठकमा विभिन्न उपसमितिहरूले पेस गरेका प्रतिवेदन र कार्ययोजनामाथि छलफल गर्दै परिमार्जनसहित पारित गरेको छ।

चितवनको नारायणी किनारमा अध्यक्ष केपी ओलीले मंसिर १० गते उद्घाटन गर्ने एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने एमालेले जनाएको छ। महाधिवेशन उद्घाटन सत्रमा कम्तीमा ५ लाखको जनसहभागिता जुटाउने एमालेले जनाएको छ।

महाधिवेशनमा ६२ मुलुकका राजनीतिक पार्टीलाई अतिथिका रुपमा बोलाउने एमालेले जनाएको छ। उनीहरुलाई निमन्त्रणा पठाइसकेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।

विद्युतीय प्रणालीमार्फत् मतदानको व्यवस्था मिलाएको एमालेले १० गते उद्घाटन सकेपछि ११ गते निर्वाचन प्रक्रिया आरम्भ गर्ने र १२ गते नै परिणाम घोषणा गर्ने तयारी गरेको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५