दैलेख: दैलेख सदरमुकाममा विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास गरिएको छ । नारायण बहुमुखी क्याम्पस मैदानमा जिल्लाका सुरक्षानिकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन् ।
गर्मीयामको सुरुवातसँगै आगलागी जन्य विपद्का घटना बढ्न सक्ने भन्दै विपद् न्यूनीकरण अभ्यास तथा उद्धारका साथै प्राथमिक उपचारमा के–कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापन नमुना अभ्यास गरेको हो।
आगलागी जन्य विपद्का घटना आइपरेको खण्डमा प्रारम्भिक चरणमा गरिने खोज, उद्धार र प्रभावितलाई पु¥याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए ।
विपद् पछिको खोज तथा उद्धारमा सशस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए भने विपद्मा परेकाहरूको उपचार व्यवस्थापन अभ्यास गरिएको थियो। नमुना अभ्यास सम्पन्न भएसँगै आयोजित औपचारिक कार्यक्रममा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले विपद्का घटना जानकारी नदिई आउने भएकाले आमनागरिक सजग हुनुपर्ने बताए ।
उनले कुनै पनि घटना समाजमा नहोऊन् भन्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रमका लागि विपद् न्यूनीकरण अभ्यास गरिएको बताए । उनले समाजमा पछिल्ला दिनमा ग्यासको प्रयोग बढ्दै गएकाले यसबाट उत्पन्न हुनसक्ने विपद्बाट सावधानी अपनाउनुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी हमालले कुनै पनि विपद्का समस्या आए तत्कालै सुरक्षानिकायलाई खबर गर्न सबै नागरिकलाई समेत आग्रह गरेका छन् ।




खुल्ला प्रेस । २९ माघ २०७९, आईतवार ०८:४७