दैलेखः ‘‘ लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालिकामा लगानीको एक्यबद्धता’’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दैलेखमा पनि सुरू गरिएको छ ।
सनिबार दैलेख सदरमुकामको देवकोटा चोकमा विषेश कार्यक्रम गरि १६ दिने अभियानको सुरुवात गरिएको हो । नारायण नगरपालिकाको आयोजना तथा जिल्लामा क्रियाशिल विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रम गरिएको सोसेक नेपाल, बाल हेल्पलाईन १०९८का बाल संरक्षण अधिकृत प्रभा बि.कले जानकारी दिए ।
नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापाको अध्यक्षतामा र जिल्ला समन्यवय समिति दैलेखका प्रमुख नवराज शाही प्रमुख आतिथ्यतामा कार्यक्रमको सरुवात गरिएको छ, उक्त कार्यक्रमा प्रमुख जिल्ला अधिकारी खिमराज भूसाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख(डिसपी) किशोर लम्साल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो अभियान हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मा १६ दिन मनाइन्छ । दैलेखका ११ वटै पालिकामा हरेक बर्ष अभियान संचालन हुदै आएका छन् । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो ।
उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।





खुल्ला प्रेस । ९ मंसिर २०८०, शनिबार १८:३३