अपडेट : सल्यान दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं : सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार मृत्यु हुनेमा १० जना पुरुष र २ जना महिला रहेका छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरुको सनाखत भइ नसकेको उनले जानकारी दिए ।

सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।

प्रहरीले तीब्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५