दैलेख: भगवतिमाई गाउँपालिकाले भुक्तानी दिँदा बिल नराखेको पाइएको छ । बिल बिना रकम भुक्तानी गरेपछि महालेखा परीक्षकको कार्यालयले ३ लाख भन्दा बढी रकम असुली गर्नुपर्ने देखाएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को ३९( ५) अनुसार भुक्तानी दिँदा विल विजक राखेर मात्र भुक्तानी दिनुपर्ने हुन्छ । तर पालिकाले बिल विना विभिन्न आयोजनाको भुक्तानी दिँदा महालेखाको प्रतिवेदन अनुसार ४ वटा आयोजना र त्यससँग सम्बन्धित फर्म तथा व्यक्तिहरूले ३ लाख २५ हजार ७ सय ५९ रुपैयाँ बेरुजु तिर्नुपर्ने देखिएको छ ।
बाइचिपिन सिचाई आयोजना निर्माणको २ लाख २६ हजार ५ सय ५२ रुपैयाँ भुक्तानी दिएकोमा ८६ हजार ९ सय ३८ रुपैयाँको बिल राखिएको छैन । हुर्केरी डाँडा गाउँ सडक निर्माण आयोजनामा ७ लाख ८६ हजार भुक्तानी गरेकोमा ९३ हजार १५ रुपैयाँको विल राखिएको छैन ।
भगवतिमाई गाउँपालिका वडा नम्बर २ को ४ लाख ३३ हजार ७ सय १९ रुपैयाँ भुक्तानी गरेको देखिन्छ । जुन आयोजनाको ३५ हजार ८ सय ३१को बिल नराखी रकम खातामा भुक्तानी गरिएको छ । ५ नम्बर वडा कार्यालयको फिल्ड निर्माणमा पनि बदनियत देखिन्छ । यहाँ ७ लाख ७४ हजार ७ सय भुक्तानी गर्दा १ लाख १० हजार १ सय ७५ रुपैयाँ विल विना भुक्तानी भएको महालेखाको प्रतिवेदनले औँल्याएको छ । यसरी बिल बिना भुक्तानी लिएका फर्म तथा व्यक्तिले बेरुजु तिर्नै पर्ने देखिन्छ ।
यस्तो छ महालेखाको रेकर्डमा





खुल्ला प्रेस । १६ श्रावण २०८३, शनिबार १२:४४