सुर्खेतका ८० वडामा सकियाे एमालेको वडाधिवेशन

सुर्खेतः नेकपा एमाले सुर्खेतका ८० वडाको अधिवेशन सम्पन्न गरेको छ। ९९ वडा मध्ये मंगलबार ८० वडाको अधिवेशन सम्पन्न गरेको हो।निर्वाचन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जनाए । ‘सबै वडा सर्वसम्मत नेतृत्व छानिएका छन्,’ अध्यक्ष शाहीले भने, ‘सुर्खेतका कुनै पनि वडामा निर्वाचन भएको छैन।’ वडाको नेतृत्वमा भने पुरुषकै दवदबा छ।

‘वडा कमिटीमा ३३ प्रतिशत महिला छन्, तर नेतृत्वमा आउने महिलाको संख्या कम छ,’ अध्यक्ष शाहीले भने, ‘अहिलेसम्म दुईवटा वडाको नेतृत्व मात्रै महिला नेतृत्व निर्वाचित भएका छन्।’ महिला नेतृहरू नेतृत्व लिनका लागि अग्रसर नभएकै कारण पुरुषहरु हामबी भएको उनको तर्क छ।

मंगलबार निर्वाचन सम्पन्न भएका ८० मध्ये ७८ वडाको नेतृत्व पुरुषले लिएका छन्। दुई वडाको नेतृत्व महिलाको हातमा पुगको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ र १० को नेतृत्व महिलाले लिएका हुन्।

वडा नम्बर ८ मा देवी पौडेल र वडा नम्बर १० लक्ष्मी शाही अध्यक्षमा निर्वाचित भएको हुन्। वीरेन्द्रनगरका कुल १६ वडामध्ये चार वटा वडामा महिलाहरूले सचिवको जिम्मेवारी पाएका छन्। वीरेन्द्रनगर वडा नम्बर ५, ११, १२ र १४ मा सचिवको जिम्मेवारी महिला नेतृहरूले लिएका छन्। वडा नम्बर ५ मा नम्रता कार्की, वडा नम्बर ११ मा धर्मा सुवेदी, वडा नम्बर १२ मा कृति सुवेदी चालिसे र वडा नम्बर १२ मा गंगा बुढाले सचिवको जिम्मेवारी पाएको छन्।

सुर्खेतका बाँकी १९ वडामा भने विवादका कारण नयाँ नेतृत्व छनौट हुन सकेका छैन। विवादकै कारण मंगलबार नेतृत्व छनौट हुन नसकेको एमाले नेताहरूले बताएका छन्। निर्वाचन हुन बाँकी रहेका वडामा पनि सर्वसम्मतिको प्रयास भइरहेको अध्यक्ष शाहीले बताए। ‘सबै वडामा सर्वसम्मत नेतृत्व छान्ने प्रयास छ,’ उनले भने, ‘सबै पदाधिकारी सर्वसम्मत गर्नकै लागि केही वडामा नेतृत्व चयन हुन सकेन।’ विवादित वडामा नेताहरूले समन्वय गरिरहेको छन्।

वडा–वडामा जिल्ला तहका नेतृत्व खटिएका कारण बुधबार सबै वडामा नयाँ नेतृत्व आउने उनको दाबी छ। सुर्खेतका नौ पालिकामध्ये वीरेन्द्रनगर बाहेक सबै पालिकामा विवाद छ। वीरेन्द्रनगरमा भने १६ वटै वडामा सर्वसम्मत नेतृत्व चुनिएका छन्।

यि हुन  वडा कमिटिका अध्यक्षहरु

वीरेन्द्रनगरको वडा नम्बर १ मा हरि पौडेल, २ मा लालसिंह सुनार, ३ मा विनोदसिंह विष्ट, ४ मा नवराज कँडेल, ५ मा बासु आचार्य, ६ मा चक्र खड्का, ७ मा खड्कबहादुर दर्लामी, ८ मा देवी पौडेल, ९ मा धनबहादुर सलामी, १० मा लक्ष्मी शाही, ११ मा रविन्द्र रेग्मी, १२ मा चुडामणी चपाई, १३ मा बासुदेव पौडेल, १४ मा नवराज रोकाय, १५ मा हिक्मत वली र वडा नम्बर १६ मा भूपेन्द्र ज्ञवाली वडाध्यक्षमा निर्वाचित भएका हुन्।

सिम्ता, गुर्भाकोट, लेकबेशी, भेरीगंगा, चिङ्गाड, बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिकामा सबै वडाको नेतृत्व चयन हुन सकेको छैन। एमालेको केन्द्रीय कार्यातालिका अनुसार कात्तिक ६ गते नै वडाधिवेशन गरिसक्नुपर्ने थियो। तर, तयारी नपुगेको भन्दै एमालेले सुर्खेतमा वडाको अधिवेशन नौ गतेलाई सारेको थियो। पालिका अधिवेशन पनि यही १५ गतेका लागि सारिएको छ।  याे समाचार नेपाली रैबारकाे सहयाेगमा बनाइएकाे हाे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५