क्षमता विकास तथा रणनीतिक योजना गोष्ठी सम्पन्न

दैलेख: सोसेक नेपालको क्षमता विकास तथा रणनीतिक योजना गोष्ठी सम्पन्न भएको छ । साउन १३ र १५ गते २ दिने सम्म सञ्चालन भएको वार्षिक गोष्ठी सम्पन्न भएको हो ।

संस्थामा पारदर्शी, समावेशी, जबाफदेही र लाभान्वित समुदायप्रति उत्तरदायी बन्दै सेवा प्रवाहलाई थप सुदृढ गरी थप उपलब्धि हासिल गर्ने उद्देश्यले कर्मचारी तथा संस्थाका पदाधिकारीहरूको लागि सोसेक नेपालले २ दिने क्षमता विकास तथा रणनीतिक योजना गोष्ठी सम्पन्न गरेको छ । यस्तो क्षमता विकास तथा रणनीतिक योजना संस्थाले हरेक वर्ष गर्ने गर्दछ ।

क्षमता विकास तथा रणनीतिक योजना गोष्ठीमा संस्थाले वर्ष भरी सञ्चालन गरेका कार्यक्रमहरूको समीक्षा गरेको सोसेक नेपालले जनाएको छ । संस्थाको लक्ष्य, उद्देश्य र रणनीतिक योजना बमोजिम कार्यक्रमहरू सञ्चालन भए नभएको र लाभान्वित समुदायले प्राप्त गरेका उपलब्धिहरूको बारेमा पनि छलफल गरिएको सोसेक नेपालका उप कार्यकारी निर्देशक वसन्त श्रेष्ठले जानकारी दिए ।

विभिन्न दातृसंस्थाहरूको सहयोगमा संस्थाले सुर्खेत, दैलेख, कालिकोट र अछामका विभिन्न पालिकाहरूमा १ दर्जन भन्दा बढी परियोजनाहरू सञ्चालनमा ल्याएको छ । उक्त परियोजनाहरू नेपाल सरकारको प्राथमिकतामा रहेका शिक्षा, महिला तथा बालबालिका, स्वास्थ्य सरसफाइ र खानेपानी, युवा, रोजगार र वातावरण संरक्षण लगायतका क्षेत्रमा रहेका छन् । विकासको मूलधारमा आउन नसकेका वर्ग तथा समुदायलाई प्रत्यक्ष सहयोग पुग्ने गरी सञ्चालन गरिएका क्रियाकलापले समुदायमा देखिने गरी परिवर्तन भएको छ । समाजमा विद्यमान छाउपडी, बालविवाह, बालश्रम लगायतका समस्या समाधानमा सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए ।

संस्थाले कार्यान्वयन गरिरहेका रणनीति र कार्यक्रमहरूको समीक्षा गरी परिष्कृत रणनीति, कार्यक्रम तथा प्रक्रिया र योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न समीक्षा गोष्ठीले  सहयोग गरेको बताउँदै संस्थाका कार्यकारी निर्देशक हिरासिंह थापाले संस्थाको संस्थागत विकास सेवा प्रवाह र सुशासनका लागि क्षमता विकास महत्त्वपूर्ण रहेको बताए । उनले भने– संस्थालाई सजीव र चलायमान बनाउन कर्मचारी र पदाधिकारीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । संस्थाको संस्थागत विकास गर्न दक्ष जनशक्तिको आवश्यकता रहन्छ । दक्ष जनशक्तिको भूमिकाले कार्यक्रमलाई परिणाममुखी र नतिजामुखी बनाउन सहयोग गर्ने भएकाले कर्मचारी र पदाधिकारीको क्षमता विकास गर्न आवश्यक रहेको थापाले बताए ।

गोष्ठीले कार्यक्रमहरूको समीक्षा गरेको छ । राम्रा र सुधार गर्नुपर्ने पक्षहरूको पहिचान गरेको छ । आशा छ, आगामी दिनमा संस्थाले समुदायमा सञ्चालन गरेका क्रियाकलापहरूले थप उपलब्धि हासिल गर्नेछन्, थापाको भनाई थियो ।

वार्षिक गोष्ठीमा परियोजनागत कर्मचारीहरूले संस्थाले गर्ने कामकारबाहीका बारेमा सुझाव दिएका छन् । संस्थालाई सफल बनाउन र रिजल्ट निस्कने गरी काम गर्ने सकारात्मक सुझाव समेत दिएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५