सातामा दुई दिन बिदा दिने निर्णय यथावत् रहने

काठमाडौँ: सरकारले शैक्षिक संस्था र सरकारी कार्यालयमा लागू गरिएको सातामा दुई दिन बिदाको व्यवस्थालाई निरन्तरता दिने जनाएको छ।शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णयमा पुनरावलोकन नहुने स्पष्ट पारेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले दुई दिनको बिदालाई प्रभावकारी रूपमा उपयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको जानकारी दिए। उनका अनुसार हाल कार्यान्वयनमा रहेको बिदासम्बन्धी व्यवस्थालाई परिवर्तन गर्ने सरकारको कुनै योजना छैन।

उनले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीसम्बन्धी व्यवस्था पनि यथावत् रहने बताए। तीन प्रतिशत समता शिक्षा शुल्कसम्बन्धी व्यवस्थामा सरकार लचिलो भए पनि धरौटी प्रावधानबाट भने पछि नहट्ने उनको भनाइ छ।

मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐनलगायतका महत्वपूर्ण कानुन निर्माणका क्रममा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक परामर्श गरिने जानकारी दिए।

विश्वविद्यालयलाई थप स्वायत्त, प्रभावकारी र राजनीतिक प्रभावबाट मुक्त बनाउने उद्देश्य अनुसार नवनियुक्त उपकुलपतिहरूलाई आफ्ना स्पष्ट योजना र सोचसहित अघि बढ्न आग्रह गरिएको उनले बताएका छन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५