राउटे संरक्षण नीति दुई वर्षदेखि अलपत्र

सुर्खेत: कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन बनाएको एकीकृत नीति मस्यौदा दुई वर्षदेखि अलपत्र बनेको छ । २०७८ असार ७ गते सरोकारवाला र विज्ञहरूसँग छलफल गरी तत्कालै राउटे संरक्षणका लागि नीति बनाउन सुरु गरिएपनि अहिलेसम्म त्यसले पूर्णता पाएको छैन ।

राउटेहरूमाथि गैरराउटे समुदायबाट असुरक्षा बढेका खबर सार्वजनिक भएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति बनाइने सरकारले जनाएको थियो । नीतिको मस्यादौसमेत बनिसकेको अवस्थामा अन्य प्रक्रिया भने अघि बढेका छैनन् । डेढ वर्ष पहिले निर्माण भएको राउटे संरक्षण नीतिको मस्यौदा मन्त्रालयमै थन्किएको सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् ।

मस्यौदामाथि विभिन्न समयमा छलफल भइरहेपनि अहिलेसम्म नीति बन्न सकेको छैन । राउटेलाई स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दैै संस्कृति संरक्षण गर्नेलगायतका विषय नीतिको मस्यौदामा समेटिएका छन् । फिरन्ते जीवन बिताइरहेका राउटेलाई स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्ने योजनासहितको नीतिको मस्यौदा अन्तिम रूप नदिएर दुई वर्षदेखि मस्यौदा थन्क्याइएको छ ।

प्रदेशको समाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा राउटे समुदायको सशक्तीकरणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले आठ लाख बजेट विनियोजन गरेको छ । शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा सचेतना फैलाउन कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ । यस्तै, संघीय सरकारले राउटे समुदायलाई मासिक प्रतिव्यक्ति चार हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको छ । २०४० सालमा पहिलो पटक गरिएको गणनामा राउटेको जनसंख्या तीन सयको हाराहारीमा रहेको पाइएको छ ।

२०६५ सालमा गरिएको गणनाअनुसार राउटेको जनसंख्या १६६ मा झरको देखिएको थियो । दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो । त्यतिबेला राउटेको जनसंख्या १४९ थियो । लोपोन्मुख राउटे समुदायकी १२ वर्षीया बालिका दुर्गा शाहीको गत बिहीबार निधन भयो । लामो समयदेखि उनी बिरामी परेकी थिइन् । पछिल्लो पटक राउटे बस्ती बसेको दैलेखको भैरवी गाउँपालिका–४ गडाज्यूलामा उनको निधन भएको हो ।

दुर्गाको निधनपछि राउटे समुदायको बस्ती भैरवी गाउँपालिकाकै–३ मा सरेको राउटे परियोजनामार्फत् राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीले जानकारी दिए । परिवारका सदस्यको निधन भए राउटे समुदायले बस्ती नै सार्ने चलन छ । दुर्गाको निधनपछि राउटे समुदायको जनसंख्या १३७ मा झरेको छ । जेठसम्म राउटेको जनसंख्या १४२ थियो । त्यसयता समुदायका नौ जनाले ज्यान गुमाइसकेका छन् । गत जेठ २३ गते समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको ९१ वर्षको उमेरमा निधन भएको थियो ।

त्यसपछि शान्ति शाही, तुल्सी शाही, महिनबहादुर शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँच महिने शिशु बालकुमारी शाही, एक महिने शिशु भैरव शाहीको निधन भएको शिक्षक खत्रीले जानकारी दिए । यो अवधिमा समुदायमा नौ जनाको निधन भएको छ भने तीन बालिका र एक बालकको गरी चार जनाको जन्म भएको छ । नयाँ जन्मिएका शिशुको संख्या थपिएसँगै अहिले समुदायको संख्या १३७ मा कायम भएको हो ।

अत्यधिक मदिरा सेवन, कुपोषण र चिसोलगायतका कारण यो समुदाय उच्च जोखिममा छ । समुदायमा अत्यधिक मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या पनि उच्च छ । हाल चिसो बढेसँगै राउटे समुदायमा स्वास्थ्य समस्या पनि बढ्दै गएको राउटे परियोजनाकी स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । काठ र कपडाको पालमुनि चिसो भुइँमा रात बिताउने यो समुदायका महिला, बालबालिका र वृद्धवृद्धामा समस्या देखिएको उनको भनाइ छ ।

अहिले राउटे समुदाय जहाँजहाँ पुग्छ, सोसेक नेपालले नियुक्त गरेका चार जना कर्मचारी त्यही–त्यहीँ पुग्ने गरेका छन् । परिचयपत्र वितरणपछि दैलेखसहित सुर्खेत, सल्यान, दाङ, अछामको सेरोफेरोमै राउटेहरू आफ्नो बस्ती घुमन्ते रूपमा सार्ने गरिरहेका छन् । उनीहरू जहाँ गए पनि गुराँस गाउँपालिकाले नै भत्ता वितरण गर्ने गरी कर्णाली सरकारले व्यवस्थापन मिलाएको छ । एउटै गाउँपालिकाबाट भत्ता वितरण भयो भने जनसंख्या यकिन गर्न तथा भत्ता वितरणमा एकरूपता आउने बताइएको छ ।

अत्यधिक मदिरा सेवन, कुपोषण र चिसोलगायतका कारण यो समुदाय उच्च जोखिममा छ । समुदायमा अत्यधिक मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या पनि उच्च छ । हाल चिसो बढेसँगै काठ र त्रिपालमुनि चिसो भुइँमा रात बिताउने यो समुदायका महिला, बालबालिका र वृद्धवृद्धामा समस्या देखिएको छ ।#काराेबारबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५