स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दा अस्पतालले अब अन्य शीर्षक छुट्याएर खर्च गर्न नपाउने

काठमण्डाैँः स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममार्फत सेवा प्रदान गर्ने अस्पतालहरूले औषधि र औजार उपकरणमा भन्दा अन्य शीर्षकमा खर्च धेरै गरेको गुनासो बढेपछि सामाजिक सुरक्षा कार्यक्रम खर्च निर्देशिका खारेज गरेको छ ।

सुरुवाती चरणमा कर्मचारी प्रोत्साहन र नागरिक आबद्धताका लागि बोर्डबाट हुने भक्तानी निश्चित प्रतिशतमा बाँढेर खर्च गर्नेगरी मापदण्ड बनाइएको भए पनि त्यसले गुणस्तरीय स्वास्थ्य सेवाभन्दा अन्य क्षेत्रमा खर्च भएको गुनासो बढेपछि खारेज गरिएको बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।

बीमा बोर्डको स्थापना हुनुअघि नै बीमा कार्यक्रमलाई अघि बढाउन सामाजिक स्वास्थ्य सुरक्षा समिति स्थापना भएको थियो । यो समितिले सेवाप्रदायकहरूले कुन शीर्षकमा कति खर्च गर्ने भनेर एउटा निर्देशिका तयार पारेको थियो ।

यो निर्देशिकाअनुसार बोर्डले भुत्तानी गरेको रकम सेवाप्रदायक अस्पतालले औषधिमा ३५ प्रतिशत, औजार उपकरणमा ३० प्रतिशत, जनशक्तिमा १५ प्रतिशत, प्रोत्साहन भत्ता १० प्रतिशत, प्रशासनिक खर्च १० प्रतिशत र १० प्रतिशत स्वास्थ्य संस्था व्यवस्थापन समितिका लागि भनेर खर्च गर्न पाउथे । तर, अब भने अन्य शीर्षकमा भन्दा बढी गुणस्तरीय स्वास्थ्य सेवाका लागि खर्च गर्नुपर्ने सूचना अधिकारी मल्लले बताए ।

‘बोर्डबाट भुक्तानी भएको रकम गुणस्तरीय स्वास्थ्य सेवामा भन्दा बढी अन्यत्र खर्च भएको हो कि भन्ने देखियो,’ सूचना अधिकारी मल्लले भने, ‘उहाँहरूले अब भने त्यसरी प्रतिशत छुट्याएर खर्च गर्न पाउनु हुन्न, भुक्तानी भएको रकम गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा खर्च गर्नुपर्‍यो ।’

१३ माघमा नै बोर्डले सबै सेवाप्रदायकलाई परिपत्र गरिसकेको छ । यसले अस्पतालले गर्ने बदमासीलाई केही हदसम्म सुधार हुने विश्वास गरिएको छ । पछिल्लो समय बोर्डले सेवाप्रदायक अस्पतालहरूलाई दाबी भुक्तानी गर्न सकिरहेको छैन ।

त्रिवि शिक्षण अस्पतालसहित केही सेवाप्रदायक अस्पतालहरूले स्वास्थ्य बीमामार्फत सेवा दिन बन्द गरेका छन् । दिगो आर्थिक स्रोत नहुँदा बीमा कार्यक्रम नै धरमराएको अवस्था छ । तर, अब कसरी अघि बढ्ने र कसरी वित्तीय स्रोत जुटाउने भन्ने विषयमा बोर्डले पटकपटक छलफल गरिरहेको र छिट्टै नै निर्णय गर्ने सूचना अधिकारी मल्लले बताए ।

अहिले बोर्डले झण्डै १२ अर्ब रुपैयाँ सेवाप्रदायक अस्पतालहरूलाई भुक्तान गर्न बाँकी छ । पछिल्लो समय बोर्डले अनावश्यक परीक्षण नगर्न आमनागरिकलाई अनुरोध गर्दै आएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५