कर्णालीमा २० वर्ष मुनिका २१ प्रतिशत किशोरीहरू गर्भवती

सुर्खेतः कर्णाली प्रदेशमा कम उमेरमा विवाह गर्ने र २० वर्षभन्दा पहिले नै गर्भवती हुनेको दर धेरै रहेको पाइएको छ । सामाजिक विकास मन्त्रालयको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कर्णालीमा प्रदेशको राजधानी वीरेन्द्रनगरमा लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना प्रादेशिक परामर्श कार्यशालामा यस्तो अवस्थाको तथ्यांक सार्वजनिक गरिएको हो ।

कार्यशालामा लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामाथि छलफल समेत भएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले मस्यौदामा उल्लेख भएको कुराहरु प्रस्तुत गरेका थिइन् । उनले प्रस्तुत गरेको तथ्यांक अनुसार कर्णाली प्रदेशमा जम्मा गर्भवती हुनेहरुमध्ये २१ प्रतिशत २० वर्ष मुनिका किशोरीहरू रहेका छन् । सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन् । जुन नेपालका सात वटै  प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।

सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काका अनुसार गर्भवती हुँदा १५ देखि ४९ उमेर समूहमा ७ वर्षअघि ४ दशमलव २ प्रतिशत र ३ वर्षयता ४ दशमलव ८ प्रतिशत लैङ्गिक हिंसाका घटना हुने गरेका छन् । लैङ्गिक हिंसा हुने दर विगतभन्दा ३ वर्षयता बढेको उनको भनाई छ । उनका अनुसार कर्णालीमा महिलाहरूमाथि हुने शारीरिक हिंसाका घटनाहरू पनि बढ्दै गएको अवस्था छ । विगत ७ वर्ष पहिला कर्णालीमा हिला हिंसा १५ प्रतिशत रहेकोमा ३ वर्षयता १६ दशमलव ७ प्रतिशत पुगेको छ । महिलाहरूमाथि हुने यौन दुर्व्यवहारका घटनाहरू पनि बढिरहेको मन्त्रालयको तथ्यांकमा छ ।

यस्तै कर्णालीमा २० देखि २४ वर्ष उमेर समूहका २९ प्रतिशत महिलाहरूको विवाह १८ वर्षसम्म भएको देखिएको छ । प्रदेश सरकारले तयार पारेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ कार्यान्वयनमा हुँदा हुँदै पनि कम उमेरमा हुने विवाह र हिंसाका घटना न्यूनीकरण हुन सकिरहेको अवस्था छैन । तर यस नीतिका कारण लैङ्गिक हिंसाविरुद्ध सचेतना, रोकथाम तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरू भने प्रदेशभर गर्दै आएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजनाले लैगिक हिंसा न्यूनीकरण तथा उमेर नपुगी हुने विवाहलाई रोक्न सहयोग पुग्ने बताए । कार्यक्रममा सहभागी सरोकारवालाहरूले लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामाथि छलफलमा भाग लिएका थिए । अन्नपुरर्णबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५